रौतहट- लगातारको वर्षाले रौतहटको सदरमुकाम गौर डुबानमा परेको छ । भारतसँगको सीमा नजिक रहेको गौर बजारमा करिव १५ फिट पानी जमिसकेको छ । अहिले पनि वर्षा भइरहेकाले जनजीवन थप कष्टकर बनेको छ ।
रौतहटको पूर्वतर्फ भएर बग्ने बागमती नदी र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुट्दा सदरमुकाम गौर डुबानमा परेको हो ।
गौरस्थित प्रहरी भन्सार सुरक्षा गार्डको कार्यालयको छानामात्र देखिएको छ भने भुई तल्लाको भाग डुबिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उता, कारागारको पहिलो तला समेत डुबानमा परिसकेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण समेत डुबानमा परेको छ । सदरमुकाम गौरबाट अन्य स्थानीय तह जोड्ने सडक अवरुद्ध भएपछि डुबानमा फसेकाहरुको उद्धारमा समस्या भएको छ ।
भारतीय सीमा जोडिएका नाकामा पानीको सतह बढेको कारण त्यहाँ स्थापित प्रहरी चौकी ब्रम्हपुरी बसतपुर, प्रहरी चौकी औरैया, भन्सार सुरक्षा गार्ड प्रहरी कार्यालय सुरक्षित स्थानमा स्थानन्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पानीको सतह बढ्दै जाँदा र डुबानले गर्दा रौतहटमा ४३२ घरभन्दा बढीका २ हजार ५ सय मानिस बिस्थापित भएका छन् ।


















