काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) ले मुलुकका विभिन्न स्थानमा भारी वर्षासँगै बाढी पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्र्दै राहत तथा उद्धारमा तदारुकता देखाउन सरकारलाई आग्रह गरेको छ ।
अध्यक्ष मण्डलका संयोजक अनिल झाले आज एक विज्ञप्ति जारी गर्दै बचाउ, उद्धार र राहतमा संवेदनशीलता एवं तदारुकताका साथ लाग्न संघ र प्रदेश सरकारसँग माग गरेको छ । राजपाले विपदको यस घडीमा धैर्यधारण गरी साहसका साथ उद्धारमा खट्न आफ्ना नेता कार्यकर्ता, शुभेच्छुक र सहयोगीसहित सबैलाई आग्रह गरेको छ ।
राजपाले उद्धार तथा राहतमा सरकारलाई सघाउन पनि आफ्ना कार्यकर्तालाई भनेको छ । रापजाले उद्धार, राहत र बचाउमा सहयोग गर्न सबै राजनीतिक दल, नागरिक समाज, स्वयंसेवी संस्था, दातृ निकाय, अन्तर्राष्ट्रिय समुदाय, एवं सहयोगी हातहरुलाई अपिल गरेको छ ।
तर, मधेसी जनताएको एक मात्र सच्चा प्रतिनिधि दाबी गर्ने राजपाले विज्ञप्तिमा नेपाली पक्षको पटकपटकको आग्रहका बाबजुद भारतले सप्तकोशी, रौतहटको बेलबिछुयासहितका बाँधका ढोका नखोलिदिँदा पूरै बस्ती डुबानमा परेको प्रसंग भने कतै पनि जोडेको छैन । राजपाले भारतलाई बाँध खोलिदिन आग्रह नगर्नुलाई मधेश र मधेशी जनताको हित बिरोधीको रुपमा हेरिएको छ । तर, मधेसमा भने भारतीय प्रवृत्तिको चर्को विरोध भइहरेको छ । फेसबुकमा मधेसी नागरिकहरुले ‘गो ब्याक इण्डिया’ भन्ने ह्यास्ट्याग नै बनाएका छन् ।