काठमाडौं / सेवाग्राहीको काम गरिदिए वापत घुस लिने काठमाडौं महानगरपालिकाका एक जना नायव सुब्बा (कर्मचारी) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ । टङ्गालबाट खटिएको अख्तियारको टोलिले महानगरपालिका नायव सुब्बा कृष्ण प्रसाद सोतीलाई एक लाख घुससहित पक्राउ गरेको हो । पक्राउ परेका सुब्बा महानगरपालिकाको समाजिक विकास विभागमा कार्यरत थिए ।
भ्रष्टाचारको विषयमा अग्रिम सूचनाका आधारमा अख्तियारको टोलि बबरमहलस्थित महानगरको सामाजिक विकास विभागको कार्यालयमा अनुसन्धान गर्ने क्रममा उनी रंगेहात पक्राउ परेको खुल्न आएको छ । सेवाग्राहीको काम गरेपछि घुस वापतको रकम भुक्तानी लिने क्रममा उनलाई अख्तियारको टोलिले पक्राउ गरेको जनाइएको छ । उनको साथबाट अख्तियारले एक लाख सात हजार रुपैयाँ घुस रकम समेत बरामद गरेको जनाइएको छ । पक्राउ परेका सुब्बामाथि थप अनुसन्धान गरेर कानुनी आधारमा कारबाही हुने अख्तियारले बताएको छ । अहिले उनको बारेमा अन्य विषयहरुमा बुझ्ने काम भैरहेको बुझिएको छ ।


















