– हुकुमबहादुर सिंह
नेपाल इतिहासदेखि वर्तमानको ओली सरकारसम्म कतै लम्पसारवादीहरूले बारम्बार शासन गर्दै आएको देश त होइन भन्ने प्रश्न आम नेपालीहरूको दिमागमा उठ्ने अवस्था आएको छ, खासगरी २०६२/०६३ को परिवर्तनपछि यो झन नेपाली आम जनसाधरणहरूले नाँगा आँखाले देख्न सक्ने अवस्थामा परिवर्तन भएको छ । राजाको पालामा के कति र कस्ता लम्पसारवादी काम भए ती त इतिहासकै गर्भभित्र लुकेर भर्खर भर्खरै बाहिर आउदै छन् । सुर्यबहादुर थापा त त्यति बेलाकै बदनाम लम्पसारवादी पञ्च थिए र उनी कैयौ राष्ट्रवादी कम्युनिस्टहरूको हत्यामा प्रधानमन्त्रीका रूपमा बदनाम थिए ।
हुन त वर्तमान नेपाल र नेपाली जनताको नजरमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक इतिहासको सन १९९६ को वर्ष एउटा अन्धकारमय वर्ष बनेको थियो । सन १९९६ को वर्ष, जुन वर्ष नेपाल र भारतबीच सम्पन्न महाकाली सन्धी, जसलाई नेपालका लागि एउटा राष्ट्रघाती सन्धी थियो, ओलीकै सक्रियता र पहलमा सम्पन्न गरिएको थियो जुन बेला नेपालमा नेपाली कांग्रेसको सरकार थियो । नेपाली कांग्रेसका नेता गगन थापा अहिले ओलीलाई भन्दै छन्–ओली सरकार लम्पसारवादीहरूको सरकार हो । त्यसो त नेपाली कांग्रेस नेपालमा एक नम्बरको लम्पसारवादी सरकार चलाउन बदनाम भएको पार्टी नै हो ।
नेपालमा जब माधव नेपाल प्रधानमन्त्री थिए, जसलाई तत्कालिन एकीकृत नेकपा (माओवादी)को समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर पछि माधव नेपाल र प्रचण्डका बिचमा मतभेदको गहिरो खाडल बन्दै गयो अनि प्रचण्डले माओवादी नेता तथा कार्यकर्तालाई सडकमा उतारेर ‘लम्पसारवादी माधव नेपाल राजीनामा दें ।’ भन्न लगाए । पछि गएर यसरी माधव नेपाललाई लम्पासरवादी भन्ने पार्टीका नेता बाबुराम भट्टराई नेपालका प्रधानमन्त्री बने र भारतको भ्रमणमा गए र उनले त्यहाँ भारतसित राष्ट्रको हित प्रतिकूल बिप्पा समझौता गरे र भने मैले जुवा खेलेको छु । नभन्दै उनकै पार्टीका नेता तथा कार्यकर्ताबाटै नेपालको एयरपोर्टमा उनका विरुद्ध कालो झण्डा देखाउदै नराबाजी गरियो र भनीयो–‘लम्पसारवादी भट्टराई राजीनामा दें ।’ त्यसमा सोही पार्टीका नेता प्रचण्डले बाबुरामको बचाव गरे । तै पनि माधव नेपाल हुंदै लाग्न थालेको यो लम्पसारवादीको नाराले बाबुराम भट्टराईको लागि पनि निरन्तरता पायो ।
पछि प्रचण्ड स्वयम् प्रधानमन्त्री बनेर भारतको दिल्ली गए र लम्पसारवादको त्यही पगरी उनले पनि लगाए । २०७३ भदौ २१ गते उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग गरेको २५ बुँदे सहमतिले विगतमा भए गरिएका सबै खाले राष्ट्रघाती सम्झौतालाई निरन्तरता दिएको मात्रै नभई थप राष्ट्रघात गर्न पुगे । प्रचण्डले गरेको यो सम्झौतालाई नेपालले गरेका हरेक राष्ट्रघाती सन्धी सम्झौताको निरन्तरताको रूपमा लिने गरिन्छ । प्रचण्डले उक्त सम्झौतामा नेपाललाई पुनः एक पटक भारतीय सुरक्षा छाताभित्र पु¥याउने प्रयास गरेका छन् । यसरी प्रचण्ड त लम्पसारवादका नेपाली पितामह नै बने ।
प्रचण्डले गरेको यो राष्टघाती सहमतिपछि २०७३ असोज २ गते नेकपा (क्रान्तिकारी माओवादी) का तत्कालिन अध्यक्ष क.मोहन वैद्य किरणद्धारा एउटा प्रेस वक्तब्य प्रकाशित गरियो, जसमा भनिएको थियो– ‘भारतसित गरिएका सन् १९५० लगायतका सबै असमान सन्धी सम्झौता तथा सहमति खारेज गर्ने कुरा हुँदै आएकोमा नेपालका प्रधानमन्त्रीद्धारा पुराना ती सबै असमान सन्धी सम्झौता तथा सहमतिहरूलाई निरन्तरता दिने कुरा स्वीकार गरिएको छ । यो एकातिर गम्भीर राष्टघात हो भने अर्कोतिर भविष्यमा अझ राष्टघाती सन्धी सम्झौता गर्नका लागि पृष्ठभूमि तयार पारिएको कुरा प्रष्ट छ ।’
माथि उल्लेखित वक्तब्यले के कुरा स्पष्टसित भनेको छ भने आगामी दिनमा यो सहमतिले राष्टघातका श्रृखंलाहरू थप्दै जाने बाटो खोली दिएको प्रष्ट हुन जान्छ । नभन्दै अहिले ओली सरकारले त त्यसलाई पनि अगाडि बढाएर भारतका अगाडि यसरी लम्पसार परिदिए कि उनी भारतको हितमा नेपाली जनतालाई विष हालिएका तरकारी र फलफूल खुवाउन थाले ।
केपी ओली त नाकाबन्दी विरोधी बनेर १९९६ देखिको उनीमाथि लगाएको राष्ट्रघातीको ट्याग केही समयसम्म हटाउन सफल देखिएका थिए तर निर्वाचनबाट दुई तिहाइको दम्भ त उनको नेपालीका अगाडि राष्ट्रवादीको डिंग हाक्ने गरेता पनि विगतका प्रधानमन्त्रीहरू जस्तै घरभित्र बाघ त घर बाहिर स्याल हुने मूल प्रवृति उनमा झन देखिएको छ । कोही पनि विश्वका सरकारले आफ्नै देशका जनतालाई विदेशीलाई खुशी बनाउन विष त खुवाउने दुस्साहास गरेको छैनन् तर ओलीले यो दुस्साहास गरेर देखाएका छन् ।
अहिले डबल नेकपाको सरकारमा यस्तै लम्पसारवादीहरू–माधव नेपाल, प्रचण्ड र ओलीको जबरजस्त नेतृत्व छ (झलनाथ खनाल मात्रै एक जना त्यस्ता प्रधानमन्त्री देखिए, जसले भारतको अगाडि लम्पसार गरेनन्) भने यस्तो लम्पसारवादीहरूको नेतृत्व भएको पार्टीको सरकारले त्यही लम्पसारवादीको मार्ग न अपनाए अरु के नै पो हामीले देख्न सक्छौ र ?
नेपाली जनतालाई यसरी भारतबाट झिकाएर जाना जानी विष खान वाध्य बनाउने ओली सरकार त लम्पसारवादी त भए नै, ज्यानमारा पनि भए भन्ने आधार उनको शासनकालमा देखिन थालेको छ । कतै यस्तै लम्पसारवादी काम गर्दै गए भने उनमा अर्को एउटा विशेषता थपिने सम्भावनालाई पनि इन्कार गर्न सकिदैन– ‘विष खान वाध्य बनाउने ज्यानमारा प्रधानमन्त्री’ । प्रधानमन्त्री भएपछि उनले पहिलो पटक नेपाली जनतासित माफी मागेका छन् र भनेका छन्– ‘मलाई भारतीय दुतावासबाट यस्ता विषका गाडिहरू छुटाउन भनेर चीठी आएको थाहै भएन किनभने मन्त्रीहरू र सचिवले मलाई गलत सुचना दिए ।’ धन्यवाद ओली कमसे कम माफी त माग्यौ । यस्तै हो भने उनले अरुमा पनि नेपाली जनतासित माफी माग्न पछि पर्नु हुंँदैन, जुन अनगिन्ति गल्ती उनको शासनकालमा भएका छन् । उनले गरेका अरु गल्तीका लागि पनि नेपाली जनतासित माफी माग्दै जान आवश्यक छ । हुन त यसरी डबल नेकपा पार्टी र उसको ओली सरकारमा छयापछयाप्ती लम्पसारवादीहरू भएको वर्तमान अवस्थामा ओलीले मात्रै माफी मागेर के होला र ? [email protected]–जनधारणा साप्ताहिक


















