विप्लव नेतृत्वको नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

198

काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा राज्यको कदमका विरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (सरकारी गाडी) का सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । वीरजंग विप्लवका दाई हुन् ।

विप्लव नेतृत्वको नेकपाका मध्य पश्चिम कमाण्ड इन्चार्ज चन्द्र बहादुर चन्द वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट सरकारी गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरेका हुन् ।

मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ । यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ ।

राजनीतिक लडाइँको मोर्चामा हारेको विरोधी सत्ताले हाम्रा नेता कार्यकर्ताहरुलाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना तथा हत्यासम्मका घटनाहरु घटाएको छ । यसरी हत्या आतङ्क, गिरफ्तारी, दमन र बलात्कारसम्मले पनि आन्दोलनलाई ठेगान लगाउन नसकेपछि बार्ताको भ्रमपूर्ण बकवास गोयबल्स शैलीमा फैलाएको छ र थप दमनको तयारी गरिरहेको छ ।’

विज्ञप्तिमा वीरजंगले भनेका छन्, ‘यता जनताको गाउँ–गाउँमा सिंहदरवारको नारामा गठित कथित सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान संचालन गरेर जनपक्षीय आवाजहरुलाई बन्द गर्ने, उता कथित जनप्रतिनिधिहरु नै ठेक्का पट्टामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन् । साथै कतिपय कथिन जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको हुनाले हाम्रो पार्टीले आगामी दिनमा ती सबै हर्कतहरु बन्द गर्ने निर्णय गरेको छ ।

मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध आगामी २०७६ साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध गरिएको छ । उक्त निर्णयका विरुद्ध जनविरोधी कार्य गरे र गराएमा जनताले नियन्त्रणमा लिई कारवाही चलाउने चेतावनी पनि उनले दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here