काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं उपत्यकाभित्र सडक विस्तार र मर्मत कार्य प्रभावकारी ढंगले सुरु गर्न गइरहेको जानकारी गराएका छन् । जनधारणा साप्ताहिकसंग टेलिफोन संवादमा कुरा गर्दै मन्त्री महासेठले काठमाडौंको चक्रपथमा अरु दुई ठाँउमा अण्डरपास सडक खोल्ने तयारी भइरहेको पनि जानकारी गराएका छन् । कोटेश्वरको मनोहरा पुलबाट प्रवेश गरी तीनकुनेमा निस्कने गरी अण्डरपास खोल्ने कामको सुरुवात यसै आर्थिक वर्ष ०७६÷७७मा सुरु हुने जानकारी पनि उनले गराएका छन् ।
त्यसैगरी चावहिल चक्रपथमा पनि अण्डरपासको कार्य यसै आर्थिक वर्षदेखि प्रारम्भ हुने मन्त्री महासेठले जनाएका छन् । महासेठले उपत्यकाभित्र आश्चर्यजनक रूपमा सडक मर्मत कार्यसमेत यो आर्थिक वर्षको प्रारम्भ मै थालनी गर्ने जनाएका छन् । संवादकै क्रममा महासेठले मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहबीच तालमेल मिलाउन समन्वयको प्रयास शुरु गरेको जानकारी पनि गराएका छन् । पूर्वाधार निर्माणसम्बन्धी बजेट भौगोलिकरूपमा समावेशी भएको उनले दाबी गरेका छन् । महासेठले निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) को काम छिट्टै हुने जानकारी पनि गराएका छन् ।
झापा र धनुषामा पूर्वाधारका योजना बढी भएको भन्ने जिज्ञासामा मन्त्री महासेठले ती जिल्लामा अझै बजेट नपुगेको र बजेट वितरणको हिसाबमा झापा १२औँ नम्बरमा पर्ने जानकारी पनि गराए । राष्ट्रिय गौरवका ८० योजना पूरा गर्ने लक्ष्य यो आर्थिक वर्षमा रहेको जानकारी गराउँदै उनले प्रदेश नं १ र २ माभन्दा ६ र ७ मा नै बढी बजेट रहेको जिकिर गरेका छन् । हुलाकी राजमार्गमा करीब ८० वटा पुलहरू निर्माण भइसकेको जानकारी गराउँदै मन्त्री महासेठले मध्यपहाडी राजमार्ग द्रुतगतिमा अघि बढेको, मदन भण्डारी राजमार्गको हेटौँडा–धरान खण्डको काम अन्तिम चरणमा पुगेको जानकारी पनि गराए । रसुवागढी र ठोरी सडकखण्ड दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराउँदै उनले एक वर्ष्भित्र काठमाडौँको सडकलाई व्यवस्थित गरिने र ट्राफिक बत्तीलाई पनि आधुनिकिकरण गराउँदै व्यवस्थित गर्न बजेटको विनियोजन भइसकेकोे पनि टेलिफोन संवादका क्रममा मन्त्री महासेठले जानकारी गराए ।
नागढुङ्गा सुरुङमार्गको स्वीकृतिको काम अन्तिम चरणमा पुगेको, मुग्लिनबाट नौबिसेसम्मको सडक चार लेनको बनाउन लागिएको पनि मन्त्री महासेठले जानकारी गराएका छन् । तीन लाख ५० हजार सवारीसाधनहरू कम्पनीमा दर्ता भएको तथ्यांक आफूलाई प्राप्त भएको जानकारी गराउँदै मन्त्री महासेठले दश लाख स्मार्ट लाइसेन्स कार्ड र एउटा प्रिन्टर सरकारले ल्याउने तयारी गरेको पनि जानकारी गराएका छन् । मन्त्रालयलाइ असहज तुल्याउने गरी आफ्ना गतिविधिहरू गर्ने र जनविरोधी निर्णयहरू गर्दै मनपरी काम गर्न खोज्ने जो कसैलाई पनि आफूले नछोड्ने जानकारी गराउँदै आफूसंग कुनै सरोकार नभएको कम्पनीको कारोबारसंग जोडेर केही सञ्चारमाध्यमहरूबाट भइरहेको दुष्प्रचारको प्रतिवाद गर्दै मन्त्री महासेठले कुनै विवादित विषयबारे जानकारी लिन चाहनेका लागि मन्त्रालय खुला रहेको पनि जनाए । कुनैपनि जिम्मेवारीमा रहेका व्यक्तिका बारेमा कुनै समाचार लेख्नु छ भने कमसेकम उसको पनि भनाइ राख्नु सञ्चारमाध्यमको कर्तव्य हुन आउनेतर्फ महासेठले ध्यानाकर्षण गराएका छन् ।

















