अक्टोबर २७ र २८ मा जापान रोजगारका लागि भाषा परीक्षा हुने

196

काठमाडौं / यही अक्टोबर र नोभेम्बरमा जापान रोजगारका लागि भाषा र सीपको परीक्षा हुने भएको छ ।

पहिलो चरणमा केयर गिभरका लागि कामदार लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा अक्टोबर २७ र २८ मा भाषा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । त्यसपछि सीप परीक्षा हुनेछ । सीप परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले जनाएको छ ।

भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सीप परीक्षाका लागि योग्य हुनेछन् । सीप परीक्षा उत्तीर्ण भएको २ महिनाभित्र कामदार जापान पुग्नेछन् । परीक्षाको मिति तोकिएपनि प्रक्रिया कस्तो हुने, पहिलो चरणमा केयर गिभरका लागि कति जनशक्ति लैजाने जस्ता विषयमा टुङ्गो लाग्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

नेपालले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार पहिलो चरणमा केयर गिभरको लागि जनशक्ति लैजान लागेको हो । सम्झौतामा विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भनिएको थियो ।

सम्झौता नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानी राजदूत मासासी ओगवाले हस्ताक्षर गरेका थिए ।

जापानले नर्सिङ, सरसफाइ, उत्पादन मुलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा विदेशी कामदार लिन खोजेको हो ।

जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकैपटक कामदार लैजाने बताएको थियो । गत डिसेम्बरमा जापानको मन्त्रिपरिषदले विदेशी कामदारलाई जापान भित्र्याउँने नीति पारित गरेपछि नेपाली कामदारलाई पनि जापान जाने बाटो खुलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here