मिनेन्द्रको नेतृत्वमा कुलमानमाथि छानबिन गर्न उपसमिति गठन

130

 काठमाडौं  / नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन वितरणमा भएको भनिएको अनियमितता छानबिनका लागि संसदको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काँग्रेस सांसद मीनेन्द्र रिजाल संयोजकत्वमा उपसमिति गठन गरेको हो । समितिमा अमनलाल मोदी, डा। सूर्य पाठक, तेजुलाल चौधरी, प्रदीप यादव र पार्वतीकुमारी विशंखे सदस्य छन् ।

समिति बैठकमा यसअघि सांसद र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच ट्रङ्क लाइन र डेडिकेटेड फिडरबारे भनाभन भएको थियो ।

घिसिङले अनियमितता भएको प्रमाणित गर्न चुनौती दिँदै ‘आफूमाथि प्रश्न उठाउने नेकपा सांसद अमनलाल मोदीलाई ‘माननीय भएँ भन्दैमा जथाभावी नबोल्न’ चेतावनी दिएका थिए । उपसमिति सदस्यसमेत रहेका सांसद मोदीले समितिले व्यवसायीलाई नियमविपरीत दिइएको डेडिकेटेड लाइनको रकम नउठ्नुको कारणबारे छानबिन हुने जानकारी दिए ।

लोडसेडिङका बेला वितरण गरिएको डेडिकेटेड लाइनको १० अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी छ । बैठकमा सभापति भरतकुमार शाहले लोडसेडिङ माफियाले १० अर्बभन्दा बढी विद्युत महसुल नतिरेकाले अध्ययनका लागि उपसमिति गठन गर्ने प्रस्ताव राखेका थिए । प्राधिकरणले यसअघि नै त्यसबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here