काठमाडौं / भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखको आगमनसंगै भारतीय राजदूतको चलखेल हवात्तै बढेको पाइएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग गोप्य भेटवार्ता गरेका छन् । संसदमा महिलाको गतिविधि तथा देशको समसामयिक विषयमा छलफलका लागि महिला सांसदहरुलाई दूतावासभित्रै बोलाइएको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका महिला सांसदहरु दूतावास पुगेका थिए । राजपा नेपालका चन्दा चौधरीले भनिन्,‘राजदूत ज्यूले चिनजान र भालाकुसारीका लागि चिया खान बोलाउनुभएको थियो । खासै केही थिएन ।’
नेकपाकी पम्फा भुसाल, नविना लामा, काँग्रसकी सीतादेवी यादव लगायत २०–२५ जना महिला सांसद भारतीय दूतावासमा पुगेका थिए । संसदमा भइरहेको बहस, कानुन निर्माण लगायतका विषयमा राजदूतले जिज्ञासा राखेको स्रोतले जनाएको छ ।
संसदमा कानुन निर्माण भइरहेको बेला दूतावासले महिला सांसदहरुलाई मात्र बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसअघि केही संचारकर्मीहरुलाई बोलाएर रात्रीभोज आयोजना गरेर आलोचित भएको भारतीय दूतावासले आलोचनालाई बेवास्ता गर्दै महिला सांसदहरुलाई बोलाएर गोप्य वार्ता गरेपछि नेपालको राजनीतिमा भारतको अनावश्यक चासो बढेको महसुस गरिएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त जैनसहितको टोलीको आगमन र उनको चलखेलसंगै भएको महिला सांसदहरुसंगको भलाकुसारीलाई सामान्य रुपमा लिन सकिदैन । नेपालको मन्त्री परिषद्को बैठकमा उपस्थिति जनाउँदै आएको भारतीय दूतावासलाई राजा महेन्द्रको कार्यकालमा त्यो परम्परा हटाइएको थियो । वर्तमान परिस्थितिमा भारतले देखाएको चासो र उसले गरिरहेको गतिविधिले पूनः त्यही प्रवृति दोहो¥याउने मनसाय बुझ्न सकिन्छ ।


















