एजेन्सी / भारतको उत्तरपूर्वी राज्य आसाममा जापानी इन्सेफलाइटीसको प्रकोप फैलदा आइतबार सम्म १०१ मानिसको मृत्यु भइसकेको छ । यो तथ्य ‘नेशनल हेल्थ मिसन’ (एनएचएम) बुलेटिनले उपलब्ध गराएको हो । भारतीय अनलाइन पोर्टल ‘द वायर’का अनुसार जनवरीदेखि यस रोगले २२२ को ज्यान लिइसकेको छ । यो अवधीमा कुल १,५६९ मानिसमा रोग संक्रमण देखिएको एनएचएम बुलेटिनले जनाएको छ । जुन ३० मा भारतको केन्द्रीय स्वस्थ मन्त्री हर्ष वरधानले राज्यको प्रकोपको अवस्था मूल्याकंनको गर्न लागि स्वास्थकर्मीको एउटा समूह त्यहाँ पठाएका थिए ।
त्यस्तै प्रदेशका स्वास्थ मन्त्री हिमन्त शर्माले प्रकोप नियन्त्रणका लागि विभिन्न प्रयास थालिसकेको बताएका छन् । उनका अनुसार प्रभावित क्षेत्रमा खोपका सामाग्रदेखि विभिन्न जनचेतनाको प्रयास भइरहेको छ । शर्माले सर्वसाधरणमाझ भाइरस फैलिने माध्यमप्रति जनचेतना फैलाउनु महत्वपूर्ण भएको जनाएका छन् । विगतमा आसामको नौं जिल्ला जापानी इन्सेफलाइटिसको जोखिममा हुने गरेकोमा अहिले यो २६ जिल्लामा विस्तार भएको पाइएको छ ।
‘आसाममा ठूल–ठूला जलाशय रहेकाले यहाँ पहिलो देखि रोग फैलने उपयुक्त वातावरण विधमान रहदैं आएको थियो ,’ प्रदेशको निगरानी अधिकृत डा. बी. सी. भागोवाटीले भने ।
आसामको पर्यावरणले जापानी इन्सेफलाइटिसको विस्तारमा सहयागी भूमिका निभाउँछ । त्यहाँ हुने भारी वर्षा, पानी जमेर रहने खेत, सुँगुर पालन आदी सबैले भाइरस विस्तारमा उपयुक्त वातावरण प्रदान गर्छ । यसैले आसाममा थप सर्तकता अपनाउनुपर्ने अवस्था रहेको भागोवाटीले जनाए ।

















