काठमाडौं / भारतमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी विजय भएपछि भारतीय चलखेलले नेपालमा आश्चर्यजनक गतिविधि देखाइरहेको छ । पहिलो कार्यकालमा प्रधानमन्त्रीको सपथ खाएपछि नेपालको संविधानमा हस्तक्षेप गर्ने देखि नाकाबन्दी लगाउनेसम्मका काम गरेको भारतले अब नेपालमा के गर्न खोजेको हो , नेपाली जनमानसमा सन्त्रासको वातावरण पैदा गराएको छ । ०७२ को भूकम्प लगत्तै अस्तव्यस्त बनेको नेपालमा नाकाबन्दी लगाएर थप अस्तव्यस्त गराउँदै अपराध गरेको भन्दै भारतको अन्तर्राष्ट्रिय रूपमै आलोचना भएपछि केही समयसम्म भारतको प्रत्यक्ष गतिविधिमा केही कमि आएको जस्तो देखिएको थियो । कतिपयले नेपाल मामिलामा भारत असफल भएको र भारतको पहुँचबाट नेपाल बाहिर निस्किसकेको जस्ता विश्लेषण पनि गर्ने गर्थे । विगतमा भारतले लिने गरेको स्थान पछिल्लो समय चीन र पश्चिमा मुलुकले लिइरहेको भन्ने सम्मका विश्लेषणहरू समेत भइरहेका बेला पछिल्ला केही समय यता भारतले पुनः आफ्नो भूमिकालाई स्थापित गर्न तीव्र चलखेल देखाइरहेको छ ।
हालैमात्र भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल‘जैन’को नेपाल भ्रमण र उनको भ्रमणलाई राजनीतिक दलका शीर्ष नेताले दिएको महत्वले पनि त्यो कुरालाई पुष्टि गरेको छ । नयाँ जिम्मेवारी सम्हालेपछि नेपाल भ्रमणमा आएका रअ प्रमुख गोयललाई नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले भेट मात्र गरेनन् उनीसँगको भेटलाई गोप्य राख्ने प्रयास समेत गरे । यदि भेट सामान्य मात्रै थियो भने नेताहरूले भेटलाई गोप्य बनाउन खोज्नुको कारण के हो ? कुन परिबन्दले गर्दा अर्काे देशको खुफिया कर्मचारीलाई पूर्व प्रधानमन्त्रीहरूले गोप्य रूपमा भेट्नुप¥यो ? यसले राम्रो संकेत गरेको छैन । भारतमा सिक्किम विलय हुँदाको घटनाहरूको सिंहावलोकन गर्दा नेपाली जनताले पनि भारतप्रति विश्वास गर्ने अवस्था देखिदैन ।
नेपालको राजनीति संक्रमणकालकै अवस्थामा छ । नयाँ संविधान बनेको छ । नयाँ व्यवस्था स्थापित गराउने अभ्यास भइरहेको छ । स्थायी सरकार समेत निर्माण भएको अवस्था छ । तर पनि छिमेकी देश भारतको चलखेलले गर्दा राजनीतिमा रहेको संक्रमणकाल झनै विकराल देखिन थालेको छ ।
भारतीय गूप्तचर संस्था रअका प्रमुखले आएर शीर्ष नेताहरूसँग गोप्य भेटवार्ता गर्दै गर्दा नेपालस्थित भारतीय दूतावासले केही नेपाली सांसदहरूलाई बोलाएर चियापान समेत गरायो । गोयलकै भ्रमणका बेला दूतावासमा आयोजना गरिएको भोजमा सहभागी हुन कांग्रेस सभापति देउवा लगायत उच्चस्तरीय राजनीतिक र कर्मचारीतन्त्रका अधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको समाचार बाहिर आएको छ । ती भेटघाटमा नेपालको हितका बारेमा वा भारतीय तटबन्धहरूका कारणले नेपाली भूमि डुबान भइरहेको समस्याबारे कुनै संवाद भएको कुरा पनि समाचारमा जानकारी गराइएको छैन । त्यसोभए गोप्य वार्तामा के कुरा भए ? जनतालाई किन गुमराहमा राखिएको छ ? केही दिन अघी मात्र दूतावासले प्रमुख सञ्चार माध्यमका सम्पादकहरूलाई दूतावासमै बोलाएर ककटेल डिनरको आयोजना गरेको सन्दर्भ व्यापक आलोचनाको विषय बनेको थियो । सम्बन्धित सञ्चारकर्मीहरूले भारतीय राजदूतबाट नेपालको हितका बारेमा कुनै कुरा सुनेको वा बोलेको समाचार पनि लेखेको वा सुनाएको पाइएन ।
यस्ता गतिविधिहरूबीच भारतबाट विषादी परीक्षण गरेर मात्र नेपालमा तरकारी तथा फलफूल भित्र्याउने मन्त्रिपरिषदको निर्णयप्रति असन्तुष्टि जनाउँदै भारतीय दूतावासले मन्त्रालयहरूमा पत्र पठाएको प्रसङ्ग र लगत्तै सरकार निर्णयबाट पछि हटेको प्रसङ्ग पनि चर्चाको विषय बन्यो । भारतीय दूतावासले आफूले पठाएको पत्र नेपालको सरकारी निकाय मार्फत नभइ भारतीय राजदूतको डिनर निम्तो खान गएका राजदूत निकट नेपाली सञ्चारकर्मीमार्फत नै सार्वजनिक पनि गरियो । पछिल्लो समय भारतीय पक्षबाट भएका यी गतिविधिले राम्रो संकेत गरिरहेको भन्न सकिदैन ।
दोस्रोपटक प्रधानमन्त्रीका रूपमा मोदीको आगमनपछि नेपालबारेमा साउथ ब्लकमा खिचडि पाकिरहेको संकेत यसले गरिरहेको छ । यसैपनि संविधान जारी नगर्न दबाब दिएका तत्कालीन विदेश सचिव एस जयशंकर अहिले मोदीको क्याविनेटको विदेश मन्त्री बनेका छन् । विदेशमन्त्रीका रूपमा उनको आगमनले पनि भारतको नेपाल हेर्ने नीतिमा केही परिवर्तन हुन सक्ने अनुमानकाबीच पछिल्लो समय भारतीय गतिविधि बढ्दै गएको देखिन्छ ।
नेपाल मामिलामा भारतको नीति पहिले देखिनै प्रष्ट देखिन्छ । भारत सकेसम्म नेपाललाई आफ्नै संरक्षित राज्य बनाउने प्रयत्नमै देखिन्छ । उसको मुख्य लक्ष्य सिक्किमीकरण भएपनि तत्कालका लागि उसको लक्ष्य कम्तिमा भूटानीकरण देखिन्छ । नेपालका महत्वपूर्ण जलसम्पदा आफ्नो नियन्त्रणमा लिएको भारत नेपालको परराष्ट्र र रक्षा आफ्नो मातहतमा ल्याउन प्रयत्नरत देखिन्छ । विगतमा विभिन्न राजनीतिक नेतृत्व र राजसंस्था टिकाउनका लागि उसले अघी सारेका प्रस्तावहरूले पनि यस कुरालाई पुष्टि गर्दछ । यो मिशन पुरा गर्नका लागि भारतले नेपालमा फेरि कुनै किसिमको चमत्कार नदेखाउला भन्न सकिन्न ।
भारतले वर्तमान राजनीतिक नेतृत्वलाई आफ्नो हातमा लिएर आफ्नो स्वार्थ पुरा गर्न खोजेको बुझ्न सकिन्छ । अडान लिनुपर्ने राजनीतिक नेतृत्व एउटा कर्मचारी भेट्न दूतावासमा पुग्ने प्रवृत्तिले भारतीय अभिलाशा पुरा गर्न थप सहज हुने देखिएको छ । पटक–पटक प्रधानमन्त्री भइसकेका र भविष्यका प्रधानमन्त्रीका रूपमा हेरिएका व्यक्तिसँग भारतको एउटा कर्मचारीले आफू अनुकुल भेट गर्नुले भारतीय अभिष्ट पुरा गर्न कठिन नभएको संकेत गर्छ । राजनीतिक नेतृत्वमा व्यक्तिगत स्वार्थका लागि मुलुकलाई दाउमा राख्ने प्रवृत्तिका कारण पनि नेपाल भारतको खेल मैदान बन्दै आइरहेको छ ।
चीनसँग पारवहन सम्झौता लगायतका महत्वपूर्ण सम्झौता भएपछि र नेपालमा चिनियाँ भूमिका बढ्दै जाँदा भारतको एकलौटी प्रभाव कमजोर भइरहेको अनुमानकाबीच एकाएक बढिरहेका भारतीय गतिविधिले नेपालमा भारत पुरानै शैलीमा आफ्नो भूमिका खोजिरहेको पुष्टि गर्छ । यसका लागि राजनीतिक नेतृत्वको बफादारीले नेपालप्रतिको भारतीय नीति कार्यान्वयनमा थप सहयोग पुग्ने गरेको छ । कुनै बेला भारतको भक्त र नाकाबन्दीपछि राष्ट्रवादी नेताको छवी बनाएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अहिले फेरि भारतप्रति लचकता देखाउन थालेका छन् । मोदीको भ्रमणका बेला ओलीले देखाएको खातिरदारीसँगै पछिल्लो पटक भारतीय दूतावासले नेपाली जनतालाई विष खुवाउन दबाब दिँदै पठाएको पत्रका सामु प्रधानमन्त्री ओलीको निरिहताले पनि यस कुरालाई पुष्टि गरेको छ । बिडम्बना ! नेपाल आमाले आफ्नो मुलुकलाई स्वतन्त्र ढंगले सञ्चालन गर्न सक्ने खुबी भएको सन्तान जन्माउन नसक्दा नेपाल सधंै भारतको छत्रछायाँ र थिचोमिचोमै रहनुपर्ने बाध्यात्मक अवस्था बनिरहेको छ । -जनधारणा साप्ताहिक


















