कुमार पौडेलको हत्या गैरन्यायिक

222

जनकपुरधाम– विप्लव नेतृत्वको (नेकपा)का सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु प्रहरीसँगको मुठभेडमा नभएको निष्कर्ष जनकपुरमा मानव अधिकारको क्षेत्रमा कार्य गरिरहेका विभिन्न संस्थाहरूले निकालेका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम नेपाल, तराई मानव अधिकार रक्षक संजाल, महिला मानव अधिकार रक्षा संजाल, नेपाल मानव अधिकार संगठन र उन्नत नेपालले अनुसन्धान र अध्ययनपश्चात जनकपुरमा बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनमा प्रहरीले भिडन्तको नाममा नियन्त्रणमा लिएर पौडेलको गैरन्यायिक हत्या गरेको घुमाउरो भाषा प्रयोग गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘पौडेलको दोहोरो भिडन्तमा नभई नियन्त्रणमा लिएपश्चात हत्या गरिएको हुनसक्ने यथेष्ठ सम्भावना रहेको देखिन्छ।’ विगत केही वर्षदेखि मुठभेडका नाममा व्यक्तिको हत्याको श्रृंखला बढेको पनि प्रतिवेदनमा उल्लेख छ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले घटनाको प्रकृति र विभिन्न दृष्टिले अध्ययन गर्दा पनि पौडेल समूह र प्रहरीबीच भिडन्त नभएको देखिएको जनाए। ‘घटना गम्भीर प्रकृतिको हो। त्यसैले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन हुनुपर्छ’ उनले भने, ‘पौडेलको पोष्टमार्टम रिपोर्ट अस्पतालले दिन नमानेकाले घटना दबाउने प्रयास भइरहेको आशंका छ।’

प्रतिवेदन सार्वजनिक गरेका संस्थाहरूले विभिन्न ६ बुँदे मागसमेत राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here