मलंगवा / भारतको बिहार राज्यको मढियाधाम जाँदै गरेकी बोलबम यात्रुको मृत्यु भएको छ। सर्लाहीको बागमती नदीबाट जल बोकेर मोटरसाइकलमा चक्रघट्टा गाउँपालिका ९ बस्ने हृदय दासकी १७ वर्षीया छोरी रामशिला दासको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको हो।
विपरित दिशाबाट जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले बिआर ३० भि ७१८७ नम्बरको मोटरसाइकलमा जल लिएर मलंगवातर्फ आउँदै गरेका हृदय दासलाई ठक्कर दिँदा उनकी छोरी गम्भीर भएकी थिइन्।
दुर्घटनामा गम्भीर भएकी दासलाई सर्लाही अस्पताल मलंगवा ल्याएको भएपनि थप उपचारका लागि वीरगंजतर्फ लैजाँदै गर्दै सिमरामा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दासको शव पोष्टमार्टमका लागि सर्लाही अस्पतालमा राखिएको र ट्याक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ।


















