सत्तासीन नेकपामा नेतृत्वप्रति देवत्वकरणले निम्त्याएको संकट

80

– निमकान्त पाण्डे

एउटा व्यवस्थित प्रणालीमा सञ्चालन हुने पार्टीमा नेता र कार्यकर्ता एक आपसमा परिपुरक जस्तै हुन्छन् । नेतृत्वले सही नीति तय गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने काम कार्यकर्ताबाट हुन्छ । जुन राजनीतिक व्यवस्थाको एउटा महत्वपूर्ण पाटो हो । एउटा प्रजातान्त्रिक व्यवस्था भएको मुलुकमा नेतालाई सही बाटोमा हिडाउँन कार्यकर्ताको निकै ठूलो भूमिका हुन्छ । नेताले अवलम्बन गरेका सही कार्यदिशा र मार्गदर्शनलाई पछ्याउने र कार्यान्वयनमा ल्याउने मात्र नभई कहिलेकाही नेताबाट गलत बाटो अपनाउन खोजेमा सचेत बनाउने र सच्याउने जिम्मा पनि कार्यकर्ता पंक्तिको हो । त्यसैले कार्यकर्तालाई नेतृत्वको कारिन्दाका रूपमा मात्र हेर्नु गलत हुने विश्वव्यापी राजनीतिक अभ्यासले देखाउँछ । के नेपालको हकमा पनि त्यही कुरा लागू हुन्छ त ?

नेपाल प्रजातान्त्रिक मुलुक हुँदाहुँदै पनि यहाँको राजनीतिक परिदृश्य विश्वका प्रजातान्त्रिक मुलुकको भन्दा भिन्न देखिन्छ । नेपालमा पनि राजनीतिक अभ्यास त नेता र कार्यकर्ताकै रूपमा देखिन्छ । तर विशेष गरी प्रमुख राजनीतिक दलको नेता र कार्यकर्ताबीचको सम्बन्ध निकै अनौठो देखिन्छ । यहाँ प्रमुख भनिएका राजनीतिक दलका कार्यकर्ताहरूको प्रवृत्ति हेर्ने हो भने एउटा त कारिन्दाको रूपमा देखिन्छ । अर्काे नेतृत्व निर्माण गर्ने कार्यकर्ताको भूमिका मजदुर र मालिकको जस्तो देखिन्छ । अर्थात जसरी एउटा मजदुरले गलत भएको बुझ्दा बुझ्दै पनि मालिकले गरेको जस्तो सुकै कामलाई पनि राम्रो भन्नुपर्ने बाध्यतामा हुन्छ, त्यस्तै अवस्था नेपालमा राजनीतिक दलका कार्यकर्ताहरूको देखिन्छ । कार्यकर्ताहरूमा एउटा कस्तो भ्रम देखिन्छ भने आफूले समर्थन गर्ने पार्टीको नेतृत्व जतिसुकै भ्रष्ट, दलाल र खराब चरित्रको भएपनि कार्यकर्ताले हनुमानका सेनाले जस्तै त्यसलाई जोगाउनेतर्फ लागेको देखिन्छ । नेतृत्वबाट भएका गलत प्रवृत्तिलाई ढाकछोप गर्ने प्रवृत्तिले नेतृत्वमा पनि कार्यकर्तालाई हेर्ने दृष्टिकोण कारिन्दा वा मजदुरकै जस्तो देखिन्छ । अर्थात नेतृत्वले आफूलाई नेतृत्वमा वा सत्तामा पु¥याउने कार्यकर्ता नै हुन् भन्ने विर्सिएर उनीहरू भनेका प्रयोगका साधन मात्र हुन् भन्ने प्रवृत्ति देखिन्छ ।

राजनीतिक दलका कार्यकर्ता नेतृत्वप्रति कतिसम्म बफादार छन् भन्ने कुरा पछिल्लो एक वर्षको अवधिमा सत्तारुढ नेकपा र प्रतिपक्षि नेपाली कांग्रेसबाट भइरहेका एक पछि अर्काे गल्ती कमजोरी र त्यसलाई जोगाउन कार्यकर्ताहरूको रस्साकस्सी हेरे पुग्छ । कार्यकर्ताको जमातमा नेता भनेको सर्वेसर्वा हो र उसले गल्ती गरेपनि छुट छ भन्ने मानसिकताले काम गर्दा उनीहरूले नेतृत्वलाई सचेत गराउने मुख्य भूमिका नै बिर्सिदै गइरहेका छन् । यसले गर्दा राजनीतिक नेतृत्वमा गल्ती गर्दा पनि कार्यकर्ताको साथ र समर्थन पाइन्छ भनेर हौसला बढ्दै गएको देखिन्छ । तर त्यसको नतिजा निकै भयानक देखिन थालेको पनि छ ।

पछिल्लो पटक राजनीतिक नेतृत्वले मुलुक र जनताका लागि भन्दा पनि व्यक्तिगत स्वार्थबाट प्रेरित भइ मुलुकलाई दीर्घकालसम्म असर पुग्ने किसिमका गतिविधि गर्न पनि पछि परिरहेका छैनन् । यसप्रति कार्यकर्ताबाट कुनै प्रतिवाद वा सचेत गराउने बारे सोचेको समेत देखिदैन । सरकारकै कुरा गर्ने हो भने सत्तारुढ नेकपाले सरकारमा गएको डेढ वर्षभन्दा धेरै हुँदा पनि कुनै उल्लेख्य काम गर्न सकिरहेको छैन । यसको असर जनतामा सत्तारुढ दलप्रति विस्तारै वितृष्णा बढ्दै गएको छ । जनताको तहबाट अभिव्यक्त हुने यस्ता निराशालाई सम्बन्धित दलका कार्यकर्ताहरूले नजिकबाट अबलोकन र महसुस गर्न पाइरहेका हुन्छन् । तर उनीहरूले त्यसबारेमा नेतृत्वलाई जानकारी वा सचेत बनाउने त धेरे परको कुरा हो । गलतलाई गलत भन्दा उल्टै जनतामाथि नै खनिने अवस्था देखिन थालेको छ ।

विगतमा पञ्चायत र राजसंस्थाको प्रशंसा गर्नुपर्ने जनताको बाध्यता हुन्थ्यो । त्यही बाध्यतालाई अन्त्य गर्न भन्दै जनताको शासन भन्दै गणतन्त्रको स्थापना गरिएपनि नयाँ व्यवस्थामा पुराना राजा महाराजालाई भन्दा बढी चाकडी राजनीतिक नेतृत्वले जनता र कार्यकर्ताबाट अपेक्षा गर्न थालेका छन् । सिद्धान्ततः गणतन्त्रमा कोही माननीय वा सम्माननीय हुँदैनन् भनियो । तर राजनीतिक नेतृत्वमा सम्मान खोज्ने भूत यसरी चढिरहेको छ कि अहिले नेतै पिच्छे महाराजको जस्तो सम्मानको भोक देखिन्छ । यसले अन्ततः मुलुकलाई लैजाने पच्छगमनतर्फ नै हो । त्यसैले गणतन्त्र वा लोकतन्त्रमा निर्णायक भनेका जनता र कार्यकर्ता हुन् भन्ने मान्यतालाई सबैले गहण गर्दै नेतृत्वप्रतिको अनावश्यक भक्तिभाव र देवत्वकरण अन्त्य हुन आवश्यक छ । अन्यथा एउटा सामन्तवादको विरोधमा स्थापना भएको व्यवस्थामा अर्काे सामन्तवादले गहिरो जरो गाड्ने निश्चित छ । यसतर्फ सबै सचेत हुन आवश्यक छ । सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here