आज नागपञ्चमी : यसकारण गरिन्छ नागको पुजा

529

काठमाडौँ– प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज नागको पूजा अर्चना गरी नाग पुजा मनाइँदै छ ।

घरको मूल ढोकामा नागको तस्बिरसहित नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजा आराधना गरिन्छ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको वासस्थान भएका स्थानहरू पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नाग पूजा गर्ने गरिन्छ ।

नागलाई विष्णु र शिवको प्रतीकका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै चल्दै आएको छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।

आज काठमाडौँको नाग पोखरी र टौ दह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नाग दह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here