परीक्षा केन्द्र परिवर्तनपछि परीक्षार्थीहरूद्वारा परीक्षा बहिष्कार !

276

जनकपुर / जनकपुरमा स्नातक तहको परीक्षाको केन्द्र परिवर्तन भएपछि परीक्षार्थीहरू आक्रोशित भएका छन् । परीक्षार्थीलाई जानकारी नै नदिई परीक्षा केन्द्र परिवर्तन भएको भन्दै जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पस अगाडी परीक्षार्थीहरूले प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीसंग सामान्य झडप भएको थियो । प्रदर्शनमा उत्रेका ५ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा नरेन्द्र कर्ण, रोशन प्रधान, सुभाष यादव सहित अन्य दुई जना रहेका छन् । परिक्षार्थीलाई जानकारी नदिई विविएस तहको दोस्रो वर्षको परीक्षा केन्द्र परिवर्तन भएपछि प्रदर्शन गरेको विद्यार्थी नेता आशुतोष झा नवीनले जनाए।

जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पसमा परीक्षार्थीको चाप बढी भएपछि थप व्यवस्थित बनाउन केन्द्र परिवर्तन गर्नुपरेको सह परीक्षा नियन्त्रक अखिलेश कुमार सिंहले द नेपाल टपलाई जानकारी दिए । सात सय क्षमता रहेको राराव क्याम्पसमा १२ सय परीक्षार्थी भएपछि सहजताकालागि अन्य क्याम्पसहरूमा केन्द्र सारिएको उनको भनाई छ ।

उनले यसबारे सम्पूर्ण क्याम्पसहरूमा जानकारी गराइएको समेत दाबी गरे । यता विद्यार्थीहरूले भने परीक्षा केन्द्र परिवर्तन भएको बारे आफूहरूलाई जानकारी नभएको भन्दै परीक्षा बहिष्कार गरी नाराबाजीमा उत्रिएका छन् ।

महोत्तरीको बर्दीवासका दुई , जलेस्वरको एक र धनुषाको दुई ओटा निजी कलेजको परीक्षा केन्द्र राम स्वरूप राम सागर बहुमुखी क्याम्पसलाई तोकिएको थियो । तर व्यवस्थापनमा कठिनाइ भएपछि अन्य क्याम्पसमा केन्द्र सारिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here