काठमाडौं / ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाले आव २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रुसँग मोलमोलाई गरी बढी भाडा लिने ट्याक्सी चालकलाई कारवाही गरिएको जानकारी दिए । ‘यात्रु ठग्ने दैनिक ४०/५० चालकलाई कारवाही गर्दै आएका छौँ,’ उनलेभने ।
बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ । त्यस्तै, पाँच पटकभन्दा बढी बढीभाडा लिएर कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने गरिएको महाशाखाले जनाएको छ ।
मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको पन्तले बताए । महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकको कारवाहीका लागि दैनिक ३० देखि ५० ट्राफिक प्रहरी उपत्यकाका विभिन्न स्थानमा खटाउँदै आएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा रहेका छन् ।ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबै यात्रुलाई महाशाखाले आग्रह गरेको छ ।


















