आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार चार पत्रकारलाई

270

काठमाडौं- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकारहरु कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) विधामा पुरस्कृत हुने भएका छन् ।

पुरस्कार छनौट समितिको २०७६ साउन २३ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय २०७६ साउन २४ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गरेको हो । पुरस्कार २०७६ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘२०औं स्थापना दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह–२०७६’ कार्यक्रममा प्रदान गरिनेछ । पुरस्कारको राशी जनही बीस हजार रुपैयाँ रहेको छ ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रम साउन २७ गते मध्यान्ह १२ः३० बजे अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आयोजना गरिने बताइएको छ । उत्त समारोहमा फोजिनका संस्थापकदेखि पाँचौं महाधिवेशनसम्मका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिनेछ ।

पुरस्कृत पत्रकारको संक्षित विवरण:

कौशल चेम्जोङ (रेडियो, त्रियुगा एफएम, उदयपुर) २०४५ सालबाट दृष्टि साप्ताहिकमार्फत पत्रकारीता सुरुवात गर्नु भएका कौशल चेम्जोङ वरिष्ठ पत्रकार हुन् । तीन दशकको निरन्तर पत्रकारीता यात्रामा उनले ‘टंकेला साप्ताहिक’को सम्पादक-प्रकाशक हुँदै ब्लाष्ट दैनिक धरानको कार्यकारी सम्पादक, स्पेसटाइम दैनिक, च्यानल नेपाल र रेडियो नेपालको स्थानीय सम्वाददाताको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । प्रारम्भदेखि हालसम्म जनआस्था साप्ताहिकको वरिष्ठ संवाददाताको रुपमा कार्यरत चेम्जोङ रेडियो त्रियुगामा स्थापनाकालदेखि नै स्टेशन म्यानेजरको रुपमा कार्यरत छन् ।

गणेश राई (छापा, कान्तिपुर दैनिक, काठमाडौं) कान्तिपुर दैनिकका वरिष्ठ उप–सम्पादक गणेश राई लामो समयदेखि आदिवासी जनजातिको मुद्दामा कलम चलाउँदै आएका छन् । २०५० देखि २०७४ सम्म त्रिभाषीय त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ सम्पादन गर्नुभएका राईले कौशिकी, निप्सुङ, कावा लगायतका भाषिक पत्रिकामा सम्पादकको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । २०४८ सालबाट वाम्बुले राई भाषा लेखन थालनी गर्नु भएका राई ‘किरात राई पत्रकार संघ’का संस्थापक अध्यक्ष छन् ।

राजबहादुर गुरुङ (अनलाइन, यूनाइटेडखबर डटकम, कास्की) २०५१ सालबाट पत्रकारितामा सक्रिय राजबहादुर गुरुङ पोखराबाट प्रकाशित-सञ्चालित यूनाइटेड दैनिक र यूनाइटेडखबर डटकमको प्रकाशक तथा सम्पादक हुन् । जनसत्ता साप्ताहिक, सूचना साप्ताहिक, सन्ध्याकालिन दैनिक, देशान्तर, बिमर्श, तरुण, घटना र विचार, जनमन्थन, सगरमाथा टेलिभिजन लगायतमा काम गरिसक्नु भएका गुरुङ नेपाल पत्रकार महासंघ कास्कीको पूर्व उपाध्यक्ष हुन् ।

शोभा श्रेष्ठ (टेलिजिभन, नेपाल टेलिभिजन, काठमाडौं) नेपाल टेलिभिजनमा वरिष्ठ समाचार सम्पादकको रुपमा कार्यरत शोभा श्रेष्ठ लामो समयदेखि आदिवासी जनजातिको विषयमा कलम चलाउँदै आएकी छिन् । आदिवासी जनजातिको भाषा, कला, संस्कार संस्कृति, रितिरिवाज र परम्परामा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशाण गर्दै आउनु भएका श्रेष्ठ नेवाः पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरिसकेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here