काठमाडौं– नेपाली सेनाका मेजर अजित प्रताप सिंह लागूऔषध कारोबारी भएको खुलेको प्रहरीले जनाएको छ ।
सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत मेजर सिंहलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार साँझ पक्राउ गरेको थियो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मेजर सिंहले लागूऔषध ब्राउन सुगरका स–साना पोका विक्री गर्ने गरेका पाइएको छ । प्रयोगकर्ताको माध्यमबाट थालिएको अनुसन्धानका क्रममा उनीसम्म पुगिएको उनले जनाए । अधिकृतले भने, ‘मेजरले एक हजार रुपैयाँमा एउटा पोका विक्री गर्ने गरेका रहेछन् ।’
उनकाअनुसार, पक्राउ पर्दा सिंहको साथबाट ब्राउन सुगरको ४ वटा पोका भेटिएको थियो, जसको कुल तौल डेढ ग्राम छ ।
सिंहसँगै अन्य दुई जनालाई नियन्त्रणमा लिइएको थियो तर उनीहरुको संलग्नता नदेखिएपछि छाडिसकिएको छ ।
मेजर सिंहविरुद्ध आइतबार लागूऔषधसम्बन्धी कसूरमा जिल्ला अदालत, सुनसरीबाट म्याद थप हुने इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी समिरचन्द्र खरेलले जानकारी दिए ।उनले भने, ‘म्याद थप गरेपछि मात्रै विस्तृत अनुसन्धान थाल्छौं’।
अनुसन्धानका लागि सैनिक अधिकृतमाथि अनुसन्धान गर्ने निकाय सैनिक प्रहरी गणले पनि सहयोग गरिरहेको छ ।
सामान्य मुद्दामा सैनिक अधिकृतविरुद्ध सैनिक प्रहरीले अनुसन्धान गर्छ । तर, लागूऔषधसम्बन्धी कसूर भएकाले सामान्य नागरिक सरह नियमित अदालतबाट मेजर सिंहको कसूरको फैसला हुनेछ ।


















