विकास निर्माणका काममा रेकर्ड नै ब्रेक, १७० देशलाई उछिन्यौं : मन्त्री महासेठ

70

काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको स्पष्ट पारेका छन् । उनले अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासिल देशहरुमध्ये डेढ सय देशहरुलाई पछाडि पार्दै अगाडि बढेको दाबी गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘आर्थिक समृद्धिमा हामी विश्वका १७० देशलाई पछि पार्दै टप पोजिशनमा आएका छौैं । आज हामी अन्तर्राष्ट्रिय पत्रपत्रिकार हेरौं, विकासिल देशहरुले यो डेढ वर्षभित्रमा जति राम्रो गरिरहेका छन्, त्यसको टप स्थानमा आज नेपाल पुगेको छ । हामी आएको डेढ वर्ष भएको छ, यो अवधिमा यति राम्रो ईम्प्रुभ गर्नु राम्रो कुरा हो । तर, हामीले धेरै गरिसक्यौं भन्नेपनि होईन, भर्खर भर्खर पाईला टेक्दै गरेको अवस्थामा हिजोको भन्दा धेरै राम्रो काम गरेका छौं ।’

क्लबका सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले विकास र समृद्धिको मामिलामा फड्को मारेको दाबी गरेका छन् । उनले भने,‘यो सरकारले विकास र आर्थिक वृद्धिमा ठूलो फड्को मारेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराअनुसार नै अघि बढिरहेका छौं ।’ सरकारले आगामी साँढे तीन वर्षभित्र नेपालले दोहोर अंकको आर्थिक वृद्धि हासिल गर्ने महासेठको दाबी छ ।

मन्त्री महासेठले भौतिक पूर्वाधारलगायतका विकास निर्माणका कामपनि रेकर्ड नै ब्रेक गर्नेगरि भएको सुनाए । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसारनै मैले काम गरिरहेको छु । हामी दश वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।’

उनले विद्युतीय रेलमार्ग निर्माणको कामपनि धमाधम भैरहेको बताए । उनले भने,‘पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम हामी तीन वर्षभित्र सम्पन्न गरिसक्छौं । अहिले डिपिआर त सम्पन्न नै भैसकेको छ । हामीले रेलमार्गको निर्माणमा पनि फड्को मारेका छौं ।’ मन्त्री महासेठले सडकको अवस्थामा पनि धेरै राम्रो काम भैरहेको सुनाए ।

उनले भने,‘असार २४ गतेसम्मको डेटाको कुरा गर्नुहुन्छ भने हामीले ९ सय १५ किलोमिटर बराबरको ६, ४ र २ लेनका नयाँ पिच सडकहरु बनाएका छौं । जबकी यो सरकारभन्दा अघिका सरकारको पालामा एक वर्षमा १ सय २५ किलोमिटरमात्रै हुन्थे । एक सयभन्दा बढि पुल निर्माण हुँदैनथिए, तर हामीले यो एक वर्षमा २४३ पुल बनाईसकेका छौं ।’ उनकाअनुसार अहिले ११ सय किलोमिटरको ग्राभेल सडक र ३ सय १० किलोमिटरका माटे सडक पनि निर्माण भैसकेका छन् ।

उनले काठमाडौंको बाटो, घाटो, धुलोलगायतका अवस्थामा पनि पहिलेभन्दा अहिले सुधार आएको दाबी गरे । यद्धपी केही सडकहरुले भने आफूहरुलाई अहिलेपनि आलोचनाको पात्र बनाएको उनको स्पष्टोक्ति थियो । उनले थपे,‘कलंकी–नागढुंगा सडक, चावहिल–साँखु सडकका कारण हामी आलोचनाको शिकार भयौं । तर, अब हामी द्रुत गतिमा काम गरिरहेका छौं । खानेपानीको कारण सडक बनाउन अप्ठ्यारो भएको थियो । तर, हामीले अहिले खानेपानीको कामपनि आफैं गर्नेगरि बोलपत्र आह्वान गर्न लागेका छौं । यो आर्थिक मसान्तभित्रै सबै काम सम्पन्न गरिसक्छौं ।’

उनले काठमाडौंलाई सुन्दर सहर बनाउनेगरि आफूहरुले काम गरिरहेको पनि विश्वास दिलाए । कोटेश्वर, गौशला, थापाथली लगायतमा ‘ओभरहेड ब्रिज’ बनाउन लागिएको पनि उनले सुनाए । त्यस्तै, उनले काठमाडौंमा स्मार्ट ट्राफिक लाईटहरु राख्ने पनि जनाए । यो वर्ष सरकारको पहिलो आधार वर्ष भएकोले जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको उनले स्विकारे । तर, विकास निर्माणलगायत पूर्वाधार विकासमा सरकारले रेकर्ड नै कायम गरेको उनको दाबी छ ।

मन्त्री महासेठले यो आर्थिक वर्षको अन्तिमतिर अर्थात ११ महिनापछि काठमाडौंवासीले सुन्दर काठमाडौं उपहार पाउने जनाए । काठमाडौंमा भएका पुलहरुलाई व्युटिफिकेशन गर्ने, सिग्नेचर ब्रिजहरु बनाउनेलगायतका काम हुने उनले जनाएका हुन् । त्यस्तै, रिङ–रोड विस्तारको कामपनि यही वर्षभित्र हुने महासेठको भनाई छ । देश समृद्ध रातारात नहुने जनाउँदै सिंगापुर, चीनलगायतका देशलाई पनि अहिलेको अवस्थामा आईपुग्न दशकौं समय लागेको उनले स्मरण गराए ।

महासेठले वर्तमान सरकार पाँच वर्षसम्मको लागि भएकोले यो अवधिभित्र देशलाई समृद्ध बनाउनेगरि काम गर्ने स्पष्ट पारे । विकास निर्माण र पूर्वाधार विकासमा विशेष योजनाका साथ काम भैरहेको उनको भनाई छ । त्यस्तै, उनले आगामी दुई वर्षभित्र आफ्नै झण्डा र लोगो भएको पानीजहाजपनि सञ्चालनमा ल्याईने दाबी गरे । क्रस–बोर्डर रेलहरुपनि छिट्टै सञ्चालनमा ल्याईने उनले जनाए ।

मन्त्री महासेठले यही वर्षको फागुनबाट विराटनगरबाट क्रसबोर्डर रेल सञ्चालनमा आउने जनाए । जयनगर–जनकपुर–बर्दिवासको ५२ किलोमिटर रेलपनि छिट्टै सञ्चालनमा आउने उनको विश्वास छ । उनले भने,‘भारत सरकारसँग भएको सम्झौतअनुसार ६० दिनभित्रै दुई वटा रेल (डेमो) रेल प्राप्त गर्छौं ।’ यो बीचमा सडक सुरक्षा, यातायात प्राधिकरणलगायतका ऐनहरु संसदमा पेश गरिएको पनि उनले सुनाए ।

उनले वर्तमान सरकारले कृषि क्षेत्रमा पनि उल्लेखनीय काम गरेको दाबी गरे । उनले भारत, चीन, ईजरायलसँग कृषिसम्बन्धी विशेष सम्झौता भएकोले नेपालको कृषि क्षेत्रले पनि अब फड्को मार्ने जनाए । उनले भने,‘कृषिमा अब उत्पादन बढ्छ ।’

बाढि, पहिरो र डुवानको समस्याको सवालमा पनि सरकार बेलैमा सचेत रहेकोले पूर्वाधारको क्षेत्रमा कम क्षति भएको उनको दाबी छ । उनले भने,‘हामी सचेत थियौं, त्यही भएर दुई दिनभन्दा बढि कतैपनि सडक अर्थात यातायात आवागमन अवरुद्ध भएन् । पोखरा, हेटौंडा, ईटहरी, वीरगन्जमा बेली ब्रिज बनाएका थियौं । पोखरामा त हामीले दुई लेनको बेली ब्रिज सञ्चालनमा ल्यायौं ।’ पहिरोको कारण खुर्कोट–घुर्मी सडक खण्डमा केही समस्या भएपनि त्यहाँपनि दुई दिनभन्दा बढि सडक अवरुद्ध नभएको उनको स्पष्टोक्ति थियो ।

वर्तमान सरकारले प्रत्येक मोर्चामा सफल भएको दाबी गर्दै उनले प्रधानमन्त्री ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराअनुसार नै द्रुत गतिमा काम भैरहेको सुनाए । देशमा अब राजनीतिक एजेण्डा नै समाप्त भएकोले अब आर्थिक समृद्धिको एजेण्डामा सबै दलहरुबीच सहमति, सहकार्य र एकता हुनुपर्ने उनको जोड छ । उनले भने,‘हामी त प्रतिपक्षीलाई पनि सहमति र विश्वासमा लिएर अघि बढिरहेका छौं ।’

उनले सरकारले गरेका राम्रा कामको सबैले समर्थन र सहयोग गर्नुपर्ने जनाए । तर, गलत गरे त्यसको विरोध र आलोचना गर्दा आफुहरुलाई स्विकार्य हुने उनको भनाई छ । उनले भने,‘अहिले कांग्रेससँग राजनीतिक एजेण्डा छैन । सरकारले संसदीय समितिमा छलफल गरेर ल्याएका विद्येयकहरुमा पनि कांग्रेसले विरोध गर्यो।’ उनले सरकारका राम्रा काममा प्रतिपक्षीले पनि रचनात्मक सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले आफूहरुले देश बनाउनको लागि दश वर्ष समय मागेको सुनाए । वर्तमान सरकार जनमैत्री र विकासमैत्री रहेको उनको भनाई छ ।

यातायात क्षेत्रमा पनि धेरै सुधारका काम भएको उनको दाबी छ । यातायात क्षेत्रको सिण्डिकेट पूर्ण रुपमा अन्त्य भएको र अहिले संघ, संस्थाहरु कम्पनीमा आईसकेको महासेठले जनाए । उनले भने,‘अहिले उहाँहरु करको दायरामा आउनुभएको छ । अब हामी यो क्षेत्रलाई सुधार गर्दै अघि बढाउँछौं ।’ उनले यात्रा, अपांग, ज्येष्ठ नागरिक, बालमैत्री बस सञ्चालन गर्न लागिएको सुनाए । त्यसको लागि तीन सय वटा विद्युतीय बस खरिद गर्न लागिएको र साझा यातायातलाई तीन सय करोड भुक्तानी दिईसकिएको पनि उनले जानकारी दिए । उनले सरकारले नाफामूलक रुपमा सब सञ्चालन नगर्ने स्पष्ट पारे ।

नेपालको अवस्था अहिले अत्यन्तै राम्रो भएको सुनाए । उनले भने,‘नेपालमा लगानी गर्न अहिले लाईन लागेको छ । हामी देश र जनतामा समृद्धि हाँसिल गर्नेगरि काम गरिरहेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here