– प्रीति रमण
सरकारले समृद्ध नेपाल बनाउने कुरा गरेको छ र नेपाली जनतालाई सुखी बनाउने कुरा गरेको छ, तर कसरी ? सरकारसंग यो प्रश्नको जवाफ पनि छैन र कुनै योजना पनि जानकारीमा आएको छैन । समृद्ध नेपाल बनाउनका लागि निश्चय पनि दीर्घकालीन योजनाहरू तय गर्नुपर्दछ भन्ने कुरा सरकार सञ्चालक राजनीतिक दललाई नहोला भन्न सकिन्न । त्यही पनि समृद्ध नेपालको लागि सबैभन्दा महत्वपूर्ण हुन सक्ने महिला सचेतनाबारे राष्ट्रपति कार्यक्रमका रूपमा अभियान थालनी गर्न सुझाव यस पंक्तिकारले पटक–पटक दिँदै आएकी छु । यसै सन्दर्भमा यस पटक पनि केही लेख्ने इच्छा भयो ।
सुर्खेत जिल्लाको वीरेन्द्र नगरपालिकाले छोरी जन्माउने दम्पत्तीलाई निकै खुशी लाग्ने अभियान सुरु गरेको जानकारीमा आएको छ । नगरपालिकाले वीरेन्द्रनगरका वासिन्दा रविन्द्र रेग्मीका दुई छोरीका नाममा बैंक खाता खोलिदिएको छ । नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र जन्मिएका छोरीहरूलाई बैंकमा खाता खोलिदिने अभियान थालनी गरेको छ । खाता खोल्दा रु एक हजार नगद नगरपालिकाले नै खातामा जम्मा गरिदिने कार्यक्रम थालनी गरेको छ । हालसम्म सो नगरपालिकाले ९१ जना छोरीहरूको बैंक खाता खोलिसकेको जनाइएको छ ।
सुन्दा वा जानकारीमा आउँदा सामान्य लाग्ने यो समाचारको महत्व निकै दूरगामी हुनेछ । यो अभियानले देशव्यापी रूप धारण गर्नुपर्दछ । यसअघि बाराको प्रसौनी गाउँपालिकाले छोरीको जन्म दर्तासँगै उसको नाममा १० हजार रकमसहित २० वर्षे मुद्दती खाता खोलीदिने अभियान चलाइसकेको छ । २ नं प्रदेश सरकारले अघि सारेको ‘बेटी बचाउ : बेटी पढाउ’ अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले छोरीको नाममा खाता खोलीदिने निर्णय गरेको हो ।
गत ८ असारमा बसेको दोस्रो गाउँसभाबाट १ साउनबाट लागू हुने गरी यस्तो निर्णय भएको थियो । ‘छोरीको शिक्षाको ग्यारेन्टी, विवाहवारी २० वर्ष पारी’ भन्ने सन्देश समेत दिइएको थियो । ‘छोरी अभिशाप होइनन्, वरदान हुन् भन्ने मान्यता स्थापित गर्नुका साथै सामाजिक कुसंस्कार र हिंसाको अन्त्य गर्न यो कामले उल्लेख्य सहयोग पुग्ने सो गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले दाबी गरेका छन् । उनका अनुसार प्रसौनी गाउँपालिकामा १ साउन ०७५ बाट जन्मने छोरीले यो सुविधा पाउनेछन् । त्यसैगरी यो भन्दा पहिले प्रदेश २ को महत्वाकांक्षी योजना ‘छोरी शिक्षा बिमा कार्यत्रम’ गत वर्षको माघ महिनाबाटै सुरु भइसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षा बीमा÷मुद्दती खाताको औपचारिक सुरुवात समेत गर्नुभएको थियो । यस्तै अभियान प्रत्येक नगरपालिकाहरू र प्रत्येक गाँउपालिकाहरूले थालनी गर्नुपर्दछ । अनिमात्र छोरीको महत्व समाजमा बुझिनेछ । छोरालाई मात्र पढाउनु पर्छ र छोरालाई नै सम्पत्तिको आवश्यकता पर्छ भन्ने गलत मानसिकताबाट समाजलाई सचेत बनाउन छोरीको नाममा खाता अभियानले केही न केही सहयोग अवश्य पु¥याउने आशा गर्न सकिन्छ । स्वतस्फूर्त रूपमा सुरु भइरहेको यो अभियान देशव्यापी हुन सक्यो भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई अवश्य पनि पश्चाताप हुनेछ भन्ने मलाई लागेको छ ।
विद्यादेवी भण्डारी देशको राष्ट्रपति भइसकेपछि नेपाली महिलाहरूमा निकै हौसला बढेको थियो । नेपाली महिलाहरूको जीवनस्तरमाथि उठाउन महिला राष्ट्रपतिबाट निश्चय पनि सकारात्मक पहल हुने अपेक्षा आम महिला जगतले गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपेक्षित कुनै पनि काममा चासो देखाइएको पाइएन । संविधानतः राष्ट्रपतिसंग कुनै अधिकार नभए पनि राष्ट्रपतिले प्रतिनिधित्व गर्ने राजनीतिक दलकै नेतृत्वमा दुईतिहाइ बहुमतको केन्द्रीय सरकार रहेको अवस्था छ भने प्रदेश र स्थानीय तहका सरकारहरू पनि राष्ट्रपतिकै प्रतिनिधित्वको पार्टीको बाहुल्यता रहेको अवस्था छ । यस्तो अवसर पाउँदा पनि राष्ट्रपतिबाट नेपाली महिलाहरूको उत्थानका लागि कुनै कार्यक्रम सञ्चालन गर्ने प्रयास नहुनु दुःखद पक्ष हो ।
सुर्खेतको वीरेन्द्र नगरपालिकामा उपप्रमुख पनि महिला नै हुनुहुन्छ । उपप्रमुख मोहनमाया ढकालले छोरीहरूमाथि गर्भदेखि नै विभेद हुँदै आएको अवस्थालाई मध्यनजर गरी छोरीलाई बैंक खाताको अभियान थालनी गरेको उहाँले जानकारी गराउनुभएको छ । नगरपालिकाले छोरीका नाममा खोलिदिएको यो खातामा पैसा जम्मा गर्ने अभियानमा अभिभावकहरू पनि आकर्षित हुने अपेक्षा नगर उपप्रमुख मोहनमायाले गर्नुभएको छ । नगरपालिकाले यसरी खाता खोलिएको बैंकबाट १७ वर्षसम्म रकम झिक्न नपाइने प्रावधान पनि राखेको छ । यसले गर्दा छोरीलाई उच्च शिक्षा पढ्न आर्थिक समस्या नहुने उपप्रमुख ढकालको अपेक्षा रहेको छ । चाड पर्वमा टीका लगाएको, छोरीका आफन्तले मुख हेर्दा दिएको नगद समेत खातामा संकलन गर्ने प्रेरणा अभिभावकहरूमा जगाउन सकिएकोमा आफूलाई गर्व महसुस भएको उपप्रमुख ढकालको भनाई छ ।
प्रत्येक घरपरिवारमा छोरीलाई शिक्षा अनिवार्य शर्त हुने हो भने देशको समृद्धिको ढोका स्वत खुल्नेछ । समृद्धिको प्रारम्भिक विन्दु नै चेतना हो । चेतना बिना विकासको अभियानमा कसैले पनि पाइला टेक्न सक्दैन । विकास बिना समृद्धिको परिकल्पना व्यर्थ हो । समाजमा चेतनाको जागरण गराउन महिलाको भूमिका निश्चय पनि महत्वपूर्ण हुन्छ । समाजको पछौटेपनको अन्त्यका लागि महिलाहरूमा जागरण आवश्यक हुन्छ । जातिय विभेद, लैंगिक विभेद जस्ता असामाजिक संस्कारबाट छुटकारा पाउन महिलाहरूमा नै जागरणको आवश्यकता हुन्छ । महिलाहरू जागरुक हुने हो भने समाजमा कुनैपनि किसिमको विभेदका विरुद्ध जागरण ल्याउन सहजता हुने निर्विवाद छ । यस्तो महत्वपूर्ण शक्ति हो महिला, जसको सहयोग बिना पुरुषको व्यक्तित्व विकास पनि हुन सक्दैन । त्यसैले पनि महिलालाई शिक्षा अनिवार्य बनाइनु जरुरी हुन्छ ।
देशको राष्ट्राध्यक्ष महिला भएको अवस्थामा महिलाहरूमा जागरण ल्याउने अवसर छ भन्ने कुरामा कुनै विवाद छैन । डा. रामवरण यादव राष्ट्रपति रहेका बेला ‘राष्ट्रपति चुरे संरक्षण अभियान कार्यक्रम’ सञ्चालन भएको थियो । त्यस कार्यक्रममा पूर्व अर्थसचिव रामेश्वर खनाललाई राष्ट्रपति यादवले जिम्मेवारी दिएर सक्रिय बनाउनुभएको थियो । काम कति प्रभावकारी भयो भन्ने कुरा अलग हो । तथापी राष्ट्रपतिका नामबाट राष्ट्र र समाजको हितका निम्ति कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ भन्ने नजिर बनिसकेको प्रमाणित हुन्छ । दोश्रो कार्यकालको जिम्मेवारी प्राप्त गरेकी महिला राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम् दुई छोरीकी आमा समेत हुनुहुन्छ । उहाँ स्वयम्ले आफूलाई पुरुषहरूबाट अपहेलित ठान्नु परेको अनुभव पक्कै पनि गर्नुभएकै होला । महिला भएकै कारणले विधवा जीवनको पीडा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अवश्य पनि आम विधवा महिलाहरूलाई भन्दा अलि बढी नै भएको हुनुपर्दछ । देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दा गर्दै अकस्मात रहस्यमय जीप दुर्घटनाबाट हत्या समेत भएकाले मदन भण्डारीको निधनबाट विद्यादेवी भण्डारीलाई विधवा हुँदाको जस्तो पीडा आम महिलालाई अवश्य पनि नभएको होला भन्ने अनुमान गर्न सकिन्छ । मदन भण्डारीको निधनबाट आम नेपाली महिलाहरूले अभिभावक गुमाएको महसुस गरेका थिए । म स्वयम् पनि यस्तो महसुस गर्ने मध्येकै एक महिला हुँ । यही हैसियतबाट अर्थात लोकप्रिय नेता मदन भण्डारीकै नामबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीले महिला उत्थानका लागि देशव्यापी अभियानका रूपमा छोरीलाई अनिवार्य शिक्षा, छोरीलाई निःशुल्क शिक्षा , छोरीलाई अनिवार्य बैंक खाता , छोरीलाई अनिवार्य बिमा अभियानका साथै घर घरमा छोरीका आमाहरूलाई स्वरोजगार तालिम र व्यवसायका लागि कर्जाको व्यवस्था समृद्ध नेपाल सुखी नेपालीको प्रारम्भिक कदम हुने कुरामा ध्यान पु¥याउन सके वीरेन्द्र नगरपालिका र प्रदेश नं २ मा सञ्चालन भइरहेको अभियानलाई राष्ट्रपति कार्यक्रमका रूपमा देशव्यापी बनाउन सके पक्कै पनि महत्वपूर्ण परिणाम आउने विश्वास गर्न सकिन्छ । राजाहरूको अलोकप्रिय कामहरूको निरन्तरता बाहेक सकारात्मक र जनपक्षीय काम पनि राष्ट्रपतिबाट हुनुपर्छ भन्ने जनअपेक्षाको सुनुवाई हुन सक्ला कि ? ramanpreeti033@gmail.com -जनधारणा साप्ताहिक


















