काठमाडौं– वरिष्ठ पत्रकार एवम् साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ।
निमोनियाका कारण गत साता सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाएका थिए।
उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो। उनका श्रीमती, तीन छोरा र एक छोरी छन्। पारिवारिक स्रोतका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। उहाँ समीक्षा साप्ताहिकका संस्थापक सम्पादक र प्रकाशक पनि हुनुहुन्थ्याे !















