नयाँ रणनीति लागू गर्छौं : प्रशिक्षक अलमुताइरी

63

काठमाडौं । अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ ।

नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ (भदौ १७ र २० गते) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल हुनेछ । नेपालले सन् २०१७ पछि भारतसँग पहिलो पटक खेल्न लागेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक अबदुलल्ह अलमुताइरीले पनि भारतविरुद्धको खेललाई साफको तयारीको रुपमा हेरेका छन् । ‘हामी भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछौँ । यो साफको लागि राम्रो तयारी हुनेछ,’ उनले अखिल नेपाल फुटबल संघ (एन्फा) मिडियासँग भनेका छन् ।

भारतविरुद्ध खेल्दा उनले फरक रणनीतिमा खेल्ने संकेतसमेत गरेका छन् । यसअघि गत जुनमा भएको विश्वकप र एसिया कप क्वालिफायरमा उनले आक्रमक रणनीतिमा खेलाएका थिए ।

‘भारतसँग नयाँ फिलोसोफी र नयाँ रणनीति लागू गर्ने प्रयास गर्नेछौँ,’ अलमुताइरीले भने, ‘म नतिजालाई कस्तो हुन्छ हेर्दिन । प्रदर्शनलाई हेर्छु ।’

कुवेतमा विश्वकप छनोट खेल्दा र अहिलेको टिममा पनि धेरै परिवर्तन आएको उनले बताए । ‘विश्वकप छनोट खेलेको टिम र अहिलेको टिममा धेरै परिवर्तन आएको छ । किनकि मैले खेलाडीसँग धेरै समय बिताउने मौका पाएँ, धेरै क्लास लिने अनि विश्लेषण गर्ने अवसर पाएँ ।’

भारतविरुद्धको खेलसँगै माल्दिभ्समा हुने साफ च्याम्पियनसिप नेपालको लागि वरीयता सुधार गर्ने राम्रो अवसरसमेत रहेको बताए ।

यी खेलहरुबाट नेपालले एसियन कप अन्तिम चरणको छनोटमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

‘हामीलाई राम्रो प्रदर्शन गर्दै वरीयता सुधार गर्ने अवसर छ । त्यसैले हामीले मैत्रीपूर्ण खेल जित्नैपर्छ र साफको खेल पनि जित्नुपर्छ ।’ अलमुताइरीले भने , ‘एसिया कप छनोट अघि हामीलाई राम्रो गर्ने अन्तिम अवसर छ । यदि त्यसमा राम्रो गरे हामी एसियन कप छनोटमा शीर्ष चार बाट तीनमा पुग्नेछौं । यसले हामीलाई सहयोग गर्नेछ ।’

पोखरामा बन्द प्रशिक्षणमा अहिले २८ खेलाडीले तयारी गरिरहेका छन् । प्रशिक्षक अलमुताइरीले साफ र भारतसँगको मैत्रीपूर्ण खेलका लागि २६ जना सम्म लैजाने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here