बाहिरी चक्रपथ निर्माण योजना अलपत्र

349

 काठमाडौं / बाहिरी चक्रपथ निर्माण योजना अलपत्र परेको छ । योजना बनेको १९ वर्षसम्म पनि सुरु हुन नसकेको बहुप्रतीक्षित बाहिरी चक्रपथ निर्माण आफ्नै लगानीमा निर्माण गर्न दुई चिनियाँ कम्पनी इच्छुक थिए ।

गत १५ र १६ चैतमा भएको लगानी सम्मेलनमा चाइना सिभिल कन्स्ट्रक्सन कम्पनी र चाइना रेल्वे कम्पनीले बाहिरी चक्रपथ बनाउने प्रस्ताव राखेका थिए । त्यसैले पाँच महिनाअघि नै सहरी विकास मन्त्रालयले यससम्बन्धी प्रस्ताव बोर्डमा पेस गरेको थियो । तर, बोर्डले कुनै निर्णय नगर्दा चक्रपथ निर्माण अन्योल कायमै छ ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले लगानी बोर्डका कारण बाहिरी चक्रपथ निर्माणको काम सुरु हुन नसकेको जनाएका छन् । ‘लगानी सम्मेलनमा दुई चिनियाँ कम्पनीले चक्रपथ बनाउने इच्छा देखाए, उनीहरूले मन्त्रालयमा औपचारिक प्रस्ताव पनि पेस गरे,’ उनले भने, ‘त्यही प्रस्ताव लिएर हामी लगानी बोर्ड पुग्यौँ र प्रस्ताव पेस र्गयौँ । तर, बोर्डले हामीलाई अहिलेसम्म कुनै पत्र पठाएको छैन । त्यसैकारण चक्रपथ निर्माण कार्य शून्य बिन्दुमा छ ।’

बाहिरी चक्रपथ निर्माणका लागि बनाइएको डिपिआर खारेज गरिएको छ । सात वर्षको समय र ८० करोड लगानी गरेर बनाइएको बाहिरी चक्रपथको डिपिआर अपूरो भएको भन्दै खारेज भएको छ ।

सहरी विकास मन्त्रालयका अनुसार पुरानो डिपिआरबाट बाहिरी चक्रपथ निर्माण सम्भव छैन । ‘त्यो डिपिआर अपुरो छ । १२ खण्डमा विभाजन गरी बाहिर चक्रपथ बनाउने भनिएको थियो । तर, डिपिआर जम्मा सात खण्डको मात्रै बनेको रहेछ । पाँच खण्डको डिपिआर बनेकै रहेनछ,’ सहरी विकासमन्त्री राईले भने, ‘फेरि त्यो डिपिआर १४ वर्षअघि बनेको हो । अहिले अलाइनमेन्ट नै परिवर्तन गर्न आवश्यक देखिन्छ । त्यसबाट चक्रपथ बन्न सम्भव छैन, रेफरेन्सका लागि प्रयोग हुन सक्छ ।’ यस्तो अवस्थामा चिनियाँ कम्पनी प्रस्ताव लिएर आएको र मन्त्रालयले काम अगाडि बढाए पनि आशाअनुरूप काममा प्रगति हुन नसकेको मन्त्री राईले जनाए ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई भन्छन्–बोर्डमा प्रधानमन्त्री र अर्थमन्त्री हुनुहुन्छ, तर प्रक्रिया अघि बढेन । १४ वर्षअघि बनेको डिपिआरबाट बाहिरी चक्रपथ बन्ने सक्ने देखिएन । यही क्रममा डिपिआर निःशुल्क बनाउने भन्दै चिनियाँ कम्पनी आए । निर्माणको काम दिए डिपिआर निःशुल्क बनाउन सकिने उनीहरूको सर्त थियो । हामीले उनीहरू इन्जिनियर–डिजाइन–कन्स्ट्रक्सन –इन्भेस्टमेन्ट मोडलमा चक्रपथ निर्माण गर्न चाहन्थे । हामी प्रस्ताव लिएर अर्थ मन्त्रालय पुग्यौँ । तर, अर्थबाट कुनै रेस्पोन्स भएन । गत चैतमा भएको लागनी सम्मेलनमा दुई चिनियाँ कम्पनी चक्रपथ निर्माणका लागि आए । प्रस्ताव लिएर लगानी बोर्डमा पेश र्गयौं । बोर्डको अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्ष अर्थमन्त्री हुनुहुन्छ । उहाँहरूको छलफलविना यो योजना अघि बढ्दैन । यसको अधिकार लगानी बोर्डसँग छ । अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन । त्यसो हुँदा बाहिरी चक्रपथ निर्माणको अवस्था अहिले जिरो बिन्दुमा छ ।

लगानी बोर्डले भने बाहिरी चक्रपथ निर्माणको प्रस्ताव गर्ने दुई कम्पनीको मूल्यांकन भइरहेको जनाएको छ । ‘लगानी प्रस्ताव गर्ने कम्पनीहरू लगानी गर्न योग्य छन् वा छैनन् भनेर योग्यता मूल्यांकन गर्ने काम सम्पन्न हुने क्रममा छ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘चाँडै नै बोर्ड बैठकमा उपयुक्त कम्पनी पेस गर्ने तयारीमा छौँ ।’

उनका अनुसार एउटा मात्र कम्पनी छनोट भए बोर्डमा निर्णयका लागि पेस गरिनेछ र कम्पनीसँग वार्ता थालनी गरिनेछ । दुईवटै कम्पनी लगानी गर्नयोग्य ठहरिएको खण्डमा भने आयोजना निर्माणबारे प्राविधिक र आर्थिक प्रस्ताव आह्वान गर्ने सम्भावना छ । त्यसअनुसार उपयुक्त कम्पनी छनोट गरिनेछ । बोर्डका अनुसार बाहिरी चक्रपथमा सार्वजनिक–निजी साझेदारी मोडेलअनुसार लगानी हुनेछ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको लगानी बोर्डको बैठकले छनोट गर्ने कम्पनीले आयोजनाको सुरुदेखिको काम गर्ने बोर्डको भनाइ छ । छनोट हुने कम्पनीले सुरुमा सम्भाव्यता अध्ययन गर्नेछ । त्यसका लागि एक वर्ष अवधि तोकिएको छ । अर्को एक वर्ष्भित्र डिपिआर तयार गर्नुका साथै वित्तीय व्यवस्थापन पूरा गर्नेछ । त्यसपछिको पाँच वर्ष्भित्र आयोजना तयार गर्ने गरी बोर्डले कार्ययोजना तयार गरेको छ । पिपिपी मोडेलमा भए पनि सरकारी लगानी नहुने गरी तयारी अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here