अमेजन जंगलमा आगलागी,डढेलो लगाउने क्रम अधिक

186

ब्राजिलको अमेजन रेनफरेस्ट तीव्र गतिमा फडानी भइरहेको छ । यसैक्रममा अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ ।

ब्राजिलको नेशनल इन्स्टिच्युड फर स्पेस रिसर्च (इनपे) ले प्राप्त गरेको नयाँ स्टेलाइट तथ्यांक अनुसार यो वर्ष अमेजन रेनफरेस्टमा डढेलो लाग्ने क्रम अत्याधिक मात्रामा बढेको छ ।

गएको वर्षको सोही अवधिको तुलनामा यो वर्ष अमेजन रेनफरेस्टमा डढेलोको मात्रा ८३ प्रतिशतले बढेको स्याटेलाइट तथ्यांकले देखाएको इनपेले उल्लेख गरेको छ ।

केही हप्ताअघि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले इनपेका प्रमुखलाई बर्खास्त गरेका थिए । वन फडानी सम्बन्धी गलत तथ्यांक सार्वजनिक गरेको आरोप लगाउँदै राष्ट्रपति बोल्सोनारोले इनपेका बर्खास्त गरेका हुन् ।

बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ । अमेजन रेनफरेस्टमा लागेको आगोका कारण निस्किएको धुवाँले गर्दा साओ पाओलो शहरमा सोमबार दिउँसो ब्ल्याकआउट भएको थियो ।

अमेजोनास र रोन्डोनिया राज्यमा पर्ने अमेजन रेनफरेस्ट क्षेत्रमा लागेको आगो तथा त्यहाँबाट चलेको हावाका कारण सोमबार दिउँसो झण्डै एक घण्टा साओ पाओलोमा ब्ल्याकआउट भएको थियो । आगलागी भएको क्षेत्र साओ पाओलोबाट २७ सय किलोमिटर भन्दा पर पर्छ ।

यो वर्षको जनवरीदेखि अगस्टसम्ममा अमेजन जंगलमा आगलागीका ७२ हजार घटना भएको इनपेले उल्लेख गरेको छ । यो गएको वर्षको सोही अवधिको तुलनामा ८३ प्रतिशत बढी हो । सन् २०१३ यता इनपेले अमेजनमा हुने आगलागीका घटनाको तथ्यांक राख्न थालेयता यो सबैभन्दा बढी हो ।

पछिल्लो बिहीबार यता ९ हजार पाँच सय भन्दा बढी स्थानमा डढेलो लागेको र अधिकांश अमेजन रेनफरेस्टमै रहेको इनपेले उल्लेख गरेको छ ।

स्याटेलाइटबाट लिइएको तस्बिरमा ब्राजिलको उत्तरी राज्य रोराइमालाई कालो धुवाँले ढाकेको देखिएको छ । डढेलोका कारण रोराइमाको छिमेकी राज्य अमेजोनासले आपतकालीन अवस्था घोषित गरेको छ ।

गर्मी मौसममा ब्राजिलका जंगलमा आगलागी हुने गरेका छन्, तर कृषि तथा पशु चरनका लागि गैरकानूनी रुपमा वनमा आगो लगाइने गरेको पनि छ ।

इनपेको भनाईप्रति राष्ट्रपति बोल्सोनारोले आक्रोश व्यक्त गरेका छन् । किसानले जमिन सफा गर्नका लागि आगो लगाउने भएकाले यो समय आगो लाग्ने मौसम नै रहेको उनले समाचार संस्था रोयटर्ससँग भनेका छन् ।

तर इनपेले भने सामान्यतया अघिल्ला वर्षको सुक्खा समय लाग्ने गरेको भन्दा यो वर्ष अत्याधिक मात्रामा आगलागी भएको जनाएको छ ।

बोल्सोनारोले संरक्षण भन्दा विकासलाई जोड दिएपछि जंगल फडानीको दर बढेको वातावरणविदले बताएका छन् । अमेजन विश्वको सबैभन्दा ठूलो रेनफरेस्ट हो । यसलाई विश्वको प्रमुख कार्बन भण्डारण केन्द्र मानिन्छ, जसका कारण विश्वव्यापी तापक्रम वृद्धिको दर कम गर्न सहयोग पुग्छ ।

बुल्डोजर लगाएर वन फडानी भएको छ । अधिकांश रुख जरैदेखि ढालिएका छन् भने केही फेदबाट काटिएका छन् । फडानी गरिएको क्षेत्रमा खेती गर्ने क्रम पनि सुरु भएको बताइन्छ । यस्तै काठहरु अवैध रुपमा बिक्री गरिने गरेको छ ।

अमेजन रेनफरेस्टको अधिकांश भाग ब्राजिलमा पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here