काठमाडौं / पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा सरकारी वकिलमार्फत अभियोग पत्र दायर भएपनि बयान नसकिएका कारण उनीहरुलाई पुनः प्रहरी हिरासतमा पठाएको छ ।
चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।
आज अस्मिता कार्की ‘रुकु’को मात्र अदालतमा बयान सकिएकोको कारण अब बाँकीका लामिछाने र कँडेलको बयान भोली सकिएपछि मात्र थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसपछि मात्र उनीहरु धरौटिमा छुट्ने या पुर्पक्षका लागि थुनामा जाने अथवा साधारण तारेखमा छुट्ने निर्णय हुनेछ ।

















