राष्ट्रिय परिचयपत्रमा दुवै हातका दस औँलाको छाप रहने

246

काठमाडौं / राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभाले पारित गरेको छ ।  राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको आठ महिनापछि प्रतिनिधि सभाले विधेयक पारित गरेको हो ।

गत मङ्सिरबाटै परिचयपत्र वितरण सुरु गरे पनि कानुन पछि तयार पार्न लागिएको हो । पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ । पारित विधेयकले यसअघि वितरण गरिएको परिचयपत्रमा केही विवरण थप गरेको छ । आँखाको विवरण नयाँ परिचयपत्रमा थप हुनेछ । परिचय पत्रमा दुवै हातका दस औँलाको छाप रहनेछ ।

परिचयपत्रमा विद्युतीय तस्बिर, विद्युतीय छाप लगायतका वैयक्तिक र जैविक विवरण संरक्षित हुनेछन् । जैविक विवरण सङ्कलनका लागि दुवै हातका सबै औँला नभएको व्यक्तिका हकमा सो बेहोरा जानकारी गराई सम्भव भएसम्मका औँलाको छाप लिइनेछ । परिचयपत्रमा व्यक्तिको वैयक्तिक विवरणसँगै आमाबाबुको नाम लगायतको विवरण पनि समेटिनेछ ।

पारित विधेयकमा परिचयपत्र रद्दको व्यवस्था पनि गरिएको छ । उमेर नपुगी लिएको प्रमाणपत्र रद्द हुनेछ । यस्तै अन्य झुटा विवरण पेस गरी लिएको प्रमाणपत्र पनि रद्द हुनेछ । विदेशी नागरिकले परिचयपत्र लिएको पुष्टि भएमा सो परिचयपत्र पनि रद्द हुनेछ ।

परिचयपत्र वाहक व्यक्तिको नेपालको नागरिकता नरहेमा वा त्याग गरेमा पनि राष्ट्रिय परिचयपत्र रद्द हुनेछ । परिचयपत्र प्राप्त गरेको व्यक्तिको मृत्यु भएमा पनि त्यस्तो परिचयपत्र कायम नरहने विधेयकमा व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here