तीज पर्वका लागि गाँउघरका चौतारीजस्तै बनेका छन् शहरबजारका पार्टी प्यालेस

149
Nisha Tamang

– निशा तामाङ

आजको चार दिन पछि नेपाली महिलाहरूको महत्वपूर्ण पर्व तीज आउँदैछ । सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्धन गर्दैे सबै हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । समय अनुसार तीज मनाउने शैली पनि परिवर्तन हुँदै गएको छ । यही परिवर्तनलाई पछिल्लो समय तडकभडक र उत्ताउलो भयो भन्दै प्रतिबन्ध लगाउन समेत सरकारी निकायबाट सूचना जारी गरिएको पनि छ । तीज पार्टी प्यालेस, रेष्टुरेण्ट जस्ता ठाउँमा नमनाउन समेत उर्दी गर्दै उर्दी उल्लंघन भए कारबाही गर्ने चेतावनी समेत दिइएको छ । तीज पर्व मनाउने शैलीप्रति चर्चा चलिरहँदा तीज आउन नजिकिदै गर्दा मुलुकको केन्द्रीय सचिवालय सिंहदरबारमा गत मंगलबार नाचगानसहित यो पर्व मनाएको समाचार पनि आयो । जुन तस्वीरमा हेर्दा समेत निकै भड्किलो नै देखिएको थियो । मन्त्रालयमै तीज पर्व त्यसरी मनाइरहँदा बाहिर पार्टी प्यलेस र रेष्ट्रेण्टमा मनाउँदा के नै आपत्ति हुन्छ भन्ने पनि कतिपयको विश्लेषण रहेको छ । अब तीज पर्वलाई के भन्ने ? संस्कृति भन्ने कि बढ्दै गएको विकृति भन्ने ? गम्भीर प्रश्न उठेको छ ।

केही वर्ष यता काठमाडौँमा तीज मनाउने क्रममा मौलिक संस्कृति बिर्सदै पार्टी प्यालेस, रेष्टुरेण्ट जस्ता ठाउँमा भड्किलो खर्च गर्दै मनाउन थालिएको पक्कै छ । म पनि काठमाडौंमै बसोबास गर्ने भएकाले तीज मनाउन निमन्त्रणा त आइ नै रहन्छन् । तर निमन्त्रणा आइरहँदा जान भने असहज महसुस भइरहेको हुन्छ । अहिलेको भड्किलो खर्चमा मनाइने तीज पर्वका नाममा बढ्दो तडक भडक, गहगरहना र लुगाको प्रदर्शन, आडम्बर, उत्ताउलोपन, फजुल खर्च, ध्वनी, प्रदूषण र चोरी हुने जस्ता विकृतिजन्य बढ्दो क्रियाकलापले काठमाडौंमा तीज मनाउन आफूलाई कुनै उत्साह हुँदैन । तर पनि तीज विशेष भनेर क्रियाशील पत्रकार महिला हरूको आयोजना भएकाले त्यस्तो नहुने हो कि भन्ने सोच पनि थियो ।

पत्रकारहरूको विचारमा तीज कस्तो हुने रहेछ त भन्ने मनमा जिज्ञासा लिँदै तीज मनाउन क्रियाशील पत्रकार महिलाको आमन्त्रणमा अनामनगरस्थित क्रियाशील महिला पत्रकार कार्यालयमै पुगेर रमाइलो पनि गरियो । त्यहाँ पुग्दा मेरो जिज्ञासा समाप्त भयो । त्यहाँ त्यस्तो तीजको तडकभडक र उत्ताउलोपन कहीँ कतै देखिन मैले । सबै संस्कृति संरक्षणका साथ तीज मनाउन उपस्थित भएको महसुस भयो । यसपटकको तीज मैले कहिले पनि नदेखेको शैलीमा मनाइयो ।

पछिल्लो समयमा मनाइने भड्किलो शैलीले तीज पर्वको मौलिकतामाथि आँच पुगको पत्रकार साथीहरूले पनि चर्चा गर्नुभएको थियो । यसलाई सही तरिकामा संस्कृति र परम्परा जोगाइरहने सोचका साथ मनाउनु जरुरी रहेकोमा सबैको जोड थियो । गाँउ घरमा चौतारा र खुला ठाँउमा मनाइने तीज शहरबजारमा ठाँउको अभाव र समयको अभावले पनि होला , महिलाहरूका लागि तीज मनाउनका लागि भनेर पार्टी प्यालेस, रेष्टुरेण्ट जस्ता ठाउँ रोजाइमा परेको पनि बुझ्न सकिन्छ । यसलाई विकृति नै मान्नु पर्छ भन्ने पनि छैन । पार्टी प्यालेस, रेष्टुरेण्ट जस्ता ठाउँले एक किसिमले शहर बजारमा बसेका महिलाका लागि तीज पर्व मनाउने चौतारीको काम गरिरहेका छन् पनि भन्न सकिन्छ । कामकाजी महिलालाई तीज मनाउन पनि हुने र काममा पनि जानुपर्ने भएकाले समय व्यवस्थापन समेत हुने भएकाले पनि पार्टी प्यालेस र रेष्टुरेण्ट जस्ता ठाँउमा तीज मनाउँदैमा यसलाई विकृति भन्न मिल्दैन भन्ने मलाई लाग्दछ ।

तीज आउनुभन्दा एक महिना अगाडिदेखि नै महिलाहरू तीजको तडकभडक सुरु गर्छन् भन्ने आरोप समेत लाग्ने गरेको छ । साउन महिना लागेदेखि नै तीज मनाउन थालिन्छ । पहिले पहिले पनि तीज आउन एक महिना अगाडिदेखि नै तीजको लागि सबै दिदिबहिनी चैतारा र खुला ठाँउतिर भेला भइ नाचगान गर्थे नै । तीजको बद्लिँदो रूप मन्दिरदेखि लिएर अहिले विभिन्न पार्टीप्यालेस र रेस्टुरेन्ट जस्ता ठाँउहरू बन्दै गएका छन् । मनाउने शैली पनि परिवर्तन हुँदै गएको छ । यसको रूपान्तरण हुँदै एक महिना अगाडिदेखि विभिन्न पार्टी प्यालेसतिर मनाउन थालियो जसलाई अहिलेको समाजले भड्किलो भन्दै आएको छ । यसले विकृति निम्त्याउदै छ भन्ने कतिपयको भनाइ पनि छ । अब भड्किलो केलाई भन्ने ? विकृति के लाई भन्ने ?

यथार्थमा वर्षदिनको एकपटक रमाइलोमा जमघट हुने चेली माइतीसंग भेटघाट हुने दिन तीज पर्व हो । यो पर्व समयसंगै परिवर्तन हुँदै गएको देख्न सकिन्छ । हिजोका दिनमा दुःख पीडा पोख्ने पर्वका रूपमा तीजलाई लिइन्थ्यो, अहिले अवस्था फेरिएको छ । यो फेरिएको शैलीलाई विकृतिबाट रोकेर संस्कृति जोगाउनेतर्फ तीज पर्वको सांस्कृतिक संरक्षण गर्न पत्रकार महिलाको भुमिका अत्यन्त आवश्यक छ । पत्रकारलाई समाजको ऐना पनि भनिन्छ । समाजमा भए गरेका क्रियाकलाप र विसंगतिबारे पत्रकारले आवाज उठाइरहनु पर्छ । यसैबाट नै समाजमा चेतनाको जागरण हुने हो । परिवर्तनका लागि कलम चलाउने पत्रकारले समाजमा आएको विकृति र विसंगति रोक्न सदैव तयार हुनैपर्छ । हामीले परिवर्तनका लागि चलाएको कलमले समाजमा सचेतता जगाउने काम हुन्छ भने विकृति समेत हटेर जाने विश्वास पनि गर्नुपर्दछ । त्यही भावनाका साथ कलम चलाउन आवश्यक हुन्छ । संस्कृतिको रूपमा यो पर्व मनाउनु भन्दा बढी आजभोलि देखावटी पनि बन्न पुगेको छ । कसले के गहना लगायो र कस्तो कपडा लगायो भन्दैमा अर्काको देखासेखी गर्ने बानी पनि परिसकेको छ । संस्कृति परम्पराको रूपमा इतिहासदेखि नै मनाउँदै आएको तीज पर्वले पछिल्लो समय य्स्तो अवस्थामा आउनु अवश्य पनि राम्रो पक्ष भने होइन । बढी खर्च गर्ने होडबाजीले नै बढी आम्दानी गर्ने आवश्यकता पनि महसुस हुन जाने र बढी आम्दानीका लागि भ्रष्टाचार लगायतका आर्थिक अनियमितताका गतिविधिहरू बढ्दै जाने हुन्छ । तीज लगायतका कुनैपनि पर्वहरूमा गरिने भड्किलो पनले राज्यलाई पनि प्रभावित तुल्याइरहेको हुन्छ भन्ने यो एउटा उदाहरण हो ।

पुस्तौंदेखि मनाउदै आइएको तीज पर्वको शैली आजका दिनसम्म आइपुग्दा आकाश–पातालको फरक रहेको पाउन सकिन्छ । यसले रूपान्तरण त ल्याएकै छ, साथै विकृति पनि बढाउँदै गएको छ । रूपान्तरण ल्याउने पनि यही पुस्ता हो समाज परिवर्तनको संवाहक पनि यही पुस्ता हो । तीजको पर्व अवलम्बन कसरी गर्ने ? तीज पर्व संस्कृतिको रूपमा कसरी मनाउने ? संस्कृतिलाई संरक्षण गर्दै बढ्दै गएको विकृतिलाई परिस्कृत गर्दै कसरी लैजाने ? यो भने चिन्ताको विषय हो । बहसको जरुरी छ । अन्त्यमा आपसी सद्भाव र एकतालाई कायम राखेर तीज पर्व मनाउन सबै नेपाली महिलाहरूलाई अवसर प्राप्त होस्, सबैलाई तीज पर्वको शुभकामना ! -samarianisu@gmail.com-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here