विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

41

झापा ।  चिया निर्यात गरेर नेपालले बर्सेनी तीन करोड ८० लाख रुपैयाँ आम्दानी गरिरहेको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा अहिले २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ। त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुने बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए।  प्रदेश १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक एक करोड ८० लाख केजी चिया उत्पादन हुने उनले बताए।

नेपालमा चिया उत्पादन गर्ने ३०  अर्थोडक्स र ३८  सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन्। १५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन्। बोर्डको तथ्याङ्कमा मुलुकमा १६० भन्दा बढी चिया बगान छन्। १५ हजारभन्दा बढी साना किसानले चियाखेती गर्दै आएको र ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दाबी छ ।

देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध छन्। अधिकारीका अनुसार पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको छ।अधिकारीले झापामा उत्पादित सिटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

चिया क्षेत्रमा वर्षौँदेखि पहल गरे पनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित छन् । प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणीकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चियापत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागू गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here