काठमाडौं / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा गत आइतबार जंगी अड्डामा सैनिक एकल महिला तथा घाईते परिवार समूहलाई सहभागी गराई नेपाली सेनाको नीतिगत तथा विभागीय कार्यहरुको सम्बन्धमा एक दिने राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले यस किसिमका गोष्ठीबाट आउने निष्कर्षले आउने दिनहरुमा आफ्नो समस्याहरुमा केन्द्रित भएर अगाडि बढ्नको लागि ठोस ढंगले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सम्बोधनकै क्रममा उहाँले एकल महिला अभियानलाई नेपाली सेना र नेपाल सरकार संरक्षकको रुपमा अविचलित ढंगले उभिएको धारणा व्यक्त गर्नुभएको थियो । साथै उहाँले गौरवपूर्ण ईतिहास बोकेको नेपाली सेना देशलाई ऐक्यबद्ध बनाउने, अक्षुण राख्ने तथा स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्ने दरिलो खम्बाको रुपमा रहेको विचार समेत व्यक्त गर्नु भएको थियो।
उक्त गोष्ठी ७७ वटै जिल्लामा बसोबास गर्ने एकल महिला, द्वन्द्वमा घाइते भएकाहरुको परिवार तथा घाइते भई अपाङ्ग भएका सकलदर्जाको सहभागितामा पहिलो पटक आयोजना गरिएको हो । गोष्ठीमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रथीबृन्द तथा अधिकृतहरु लगायत एकल महिला, द्वन्द्वमा घाइते भएकाहरुको परिवार तथा घाइते भई अपाङ्ग भएका सकलदर्जाको उपस्थिति रहेको थियो । उक्त गोष्ठीमा एकल महिला संघकी अध्यक्ष शोभा वि।सी।, एकल महिलाकी संस्थापक सदस्य लिली थापालगायत अन्य सहभागीहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
यस किसिमका गोष्ठीबाट एकल महिलाहरु, घाइते तथा अपाङ्ग भएका बहालवाला तथा भूतपूर्व सैनिकहरुको समस्यालाई बुझि त्यसको निराकरण गर्न सहज हुने विश्वास नेपाली सेनाले लिएको छ ।

















