काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज उद्घाटन हुँदैछ । भारतको मोतिहारी देखि नेपालको अमलेखगंजसम्म पेट्रोलियम पाईपलाईनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा डिजिटल प्रणालीवाट एकसाथ गर्न लागेका हुन् । ओलीले सिंहदरबारबाट र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आयल निगमले जनाएको छ।
उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल भित्रने छ। पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ। मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर छ। जस मध्ये नेपालतर्फ ३६ र बाँकि भारतीय भुमिमा रहेको छ।
पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ। सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुने र मूल्यसमेत घट्ने निगमले जनाएको छ ।


















