बल्खुमा इसुजु सोरुम, सय किलोमिटरभित्र सर्भिस सेन्टर राखेर सेवा दिने प्रतिबद्धता

122

काठमाडौं / राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम आज खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका चेयरम्यान सुहृदराज घिमिरेले शुक्रबार एक समारोहबीच उक्त सोरुम उद्घाटन गरेका हुन् ।

काठमाडौं उपत्यकाका लागि इसुजु गाडीको एक्सक्लुसिभ डिलर टाइम्स मोटर प्रालिले उक्त सोरुम सञ्चालनमा ल्याएको हो । सोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै चेयरम्यान घिमिरेले इसुजुका ग्राहकलाई प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको जानकारी गराए । वितरण र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने उनले जनाए । सन् २०१६ यता कम्पनीले हजारभन्दा बढी गाडी बेचिसके पनि ग्राहकबाट कुनै समस्याको गुनासो नआएको उनले जनाए । कम्पनीले १० हजारसम्म गाडी बेच्ने लक्ष्य राखेको र त्यसका लागि देशभर सर्भिस सेन्टर खोल्ने र नयाँ मोडलका गाडीहरु ल्याउने जनाए ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै टाइम्स मोटरका प्रबन्ध निर्देशक दिपकराज गिरीले सोरुम उद्घाटन तथा चाडपर्वको अवसर पारेर कम्पनीले इसुजुका गाडीमा मोडल अनुसार एक लाख ५० हजारदेखि चार लाख रुपैयाँसम्म छुट दिएको जानकारी दिए । सोरुममा सुरुआती मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब, ६८ लाख ९० हजार पर्ने भी–क्रस२।५ र जिप भेरिएन्टको एसयुभी मक्स गाडी छन् । मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको प्रबन्ध निर्देशक गिरीले जनाए ।

इसुजुको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका सुहृद घिमिरे सन् २०१६ यता कम्पनीले नेपालमा हजारभन्दा बढी गाडी बेचिसके पनि ग्राहकबाट कुनै ग्राहक गाडीको समस्याबारे समस्या गुनासो गर्न नआएको जनाउँछन् ।

गिरीका अनुसार इसुजु नेपालमा सबैभन्दा बढी वारेन्टी दिने ब्रान्डमा पर्छ । इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ । ‘इसुजुका गाडीहरु कति बलिया छन् भन्ने कुरा सबैभन्दा बढी वारेन्टी दिइएबाट पनि प्रस्ट हुन्छ,’ गिरीले भने, ‘इसुजुका डिजेल इन्जिनलाई विश्वमै नम्बर वान मानिन्छ ।’

आफूहरुले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर कारोबार गर्ने गिरीको प्रतिबद्धता छ । इसुजुको भारतस्थित प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री–वितरण गर्छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर मञ्जित पोखरेलले यो वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस सेन्टर रहने व्यवस्था मिलाउने जनाए ।

कार्यक्रममा एकजना इसुजु गाडी चलाउने चालक बासुदेव घिमिरेले आफ्नो अनुभव सुनाउँदै अरुभन्दा यो गाडी निकै शक्तिशाली र आरामदायी लागेको बताए । ‘यसको तान्ने क्षमता गज्जब लाग्यो,’ उनले भने ।

इसुजु मोटर्स लिमिटेड जापानी कमर्सियल भेइकल र डिजेल इन्जिन निर्माता कम्पनी हो । यसको प्रधान कार्यालय जापानको राजधानी टोक्योमा छ । एक सय तीन वर्ष पुरानो यो कम्पनीले इसुजु ब्रान्डमा कमर्सियल भेइकल र डिजेल इन्जिन उत्पादन र मार्केटिङ गर्छ । यसका भेइकल उत्पादन प्लान्ट विश्वका विभिन्न २८ देशमा देशमा छन् । एक शताब्दीको अवधिमा इसुजुले दुई करोड ८० लाख थान डिजेल इन्जिन उत्पादन गरिसकेको छ ।कम्पनीले झण्डै आठ दशक डिजेल इन्जिनको अध्ययन, अनुसन्धान र उत्पादनमा बिताएको छ । जसले गर्दा यसलाई डिजेल इन्जिनको प्राविधिक नविनतामा विश्वकै अग्रणी कम्पनी मानिन्छ ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि दुई दशकभन्दा बढी समयदेखि नेपालमा विश्वविख्यात ब्रान्डका गाडी र हेभी उपकरणको कारोबारमा संलग्न छ । यसले कोमास्तु ब्रान्डको निर्माण र माइनिङ उपकरण, कियाको प्यासेन्जर भेइकल, ओटिस ब्रान्डको इलेभेटर, फुरुकावा ब्रान्डको ड्रिलिङ उपकरण, इसुजु ब्रान्डका गाडी लगायतको कारोबार गर्छ । विभिन्न उत्पादन कम्पनीहरुमा समेत लगानी गरेको कन्टिनेन्टल ग्रुप अन्तर्गत वित्त र हाउजिङ कम्पनी पनि छ । गुणस्तरीय वस्तु र सेवा प्रदान गर्ने लक्ष्य लिएको कन्टिनेन्टल ग्रुप अहिले नेपालको सुप्रसिद्ध व्यापारिक घरानामध्येको एक बनिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here