प्रधानमन्त्रीको दैनिक कार्यशैलिमा परिवर्तन, दौडधूपमा भन्दा ‘टेबल वर्क’ मा बढी ध्यान दिने

223

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दैनिक गतिविधि र कार्यशैलीमा परिवर्तन गर्ने भएका छन् । उनको निजी सचिवालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री अब पहिलाको जस्तो जुनसुकै कार्यक्रममा जाने शैलीमा परिवर्तन हुने भएको छ । अब जानैपर्ने काममा बाहेक उनले ‘टेबल वर्क’ मा बढी ध्यान दिने छन् ।

अब बालुवाटार वा सिंहदरबारबाट नै गतिविधिको अनुगमन गर्ने र काम गर्ने गर्नुहुनेछ । यसअघि उहाँको दौडधूप बढी भएको र उपलब्धि भने त्यति नदेखिएकोले अब दौडधूप नगरी अनुगमनको कार्यलाई बढी ध्यान दिने तयारी गरिरहनुभएको सचिवालयका एक उच्च अधिकारीले बताएका छन ।

प्रधानमन्त्रीले गर्ने भनेको हालैको पूर्वाधार सम्बन्धि एउटा अन्तर्राष्ट्रिय तहको सम्मेलनमा उपप्रधानमन्त्रीलाई उद्घाटन गर्न पठाइएको थियो, भने आज हुने बाल दिवसको कार्यक्रमको जिम्मेवारी पनि शिक्षामन्त्रीलाई दिइएको सचिवालय स्रोतले जनाएको छ ।

यसैगरी यही सेप्टेम्बर महिनामा सुरु हुने संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन पनि प्रधानमन्त्री ओली नजाने भएकोले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने तय भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली यही सेप्टेम्बर २२ तारेखका दिन न्यूयोर्क जाने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा यसपालि नजाने भएकाले परराष्ट्रमन्त्रीले नै महासभामा नेतृत्व गर्ने तय भएको जानकारी गराए । सचिवालयका अधिकारीले जनाए अनुसार अघिल्लो वर्ष प्रधानमन्त्रीको विदेश यात्रा पनि धेरै भएकोमा यसपालि भने विस्तारै कम हुँदै जाने गरी तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here