काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज मन्त्रीका कारण ढिलाइ भएको भन्दै केही यात्रुले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै दुर्व्यवहार गरेका छन्। शनिबार साँज नेपालगञ्जबाट काठमाडौं आउन लागेको विमानभित्रै गालीगलौज र हातपात प्रयाससमेत भएपछि सो घटनाबारे मन्त्री भट्टराईले प्रतिक्रिया जनाएका छन् । मन्त्री भट्टराईले आफ्ना कारण विमान ढिलाई भएर यात्रुहरुमा पर्न गएको असुविधाप्रति माफी मागेका छन् ।
आफू जसरी पनि काठमाडौँ फर्कनुपर्ने दबावमा रहेको लेख्दै उनले नेपालगंज विमानस्थलमा आफ्ना विरुद्ध ३/४ जना ब्यक्तिहरु आक्रमक शैलीमा प्रस्तुत भएको जनाएका छन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन् – ‘एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दुस्ख दिएको छस् रु त्यो हामीले कहाँ बिर्सेंका छौ र रु सम्म भने,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालेँ । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।’
के भएको थियो ?
मन्त्रीका कारण केही समय विमान ढिलाइ भएको भन्दै आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता मान्ने ज्ञानेन्द्र शाहीसहितको समूहले मन्त्री भट्टराईलाई शनिबार साँझ बुद्ध एयरको जहाजमा चढेपछि गालीगलौज गरेका थिए । उनीहरुले विमानभित्रै मन्त्री भट्टराईमाथि हातपात प्रयास समेत गरे ।
आफूहरुले गरेको सो दुर्व्यवहारप्रति गर्व व्यक्त गर्दै शाहीले फेसबुकमा लेखेका छन्, ‘मन्त्री योगेश भट्टराईले आज नेपालगन्ज एअरपोर्ट मा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो, बिचरा मन्त्रीज्यु मुसो लुके जसरी लुक्नुभो । अब नागरिक सचेत भैसके, अरिङगालका दिन गन्ती सुरु ।’
शाही लगायतको विरोधी समूहले विमान १ घण्टा ढिलो गरेको बताए पनि स्वयं मन्त्री लगायत अन्यले भने जम्मा १५ मिनेट ढिलो भएको जनाएका छन् । यो घटनापछि मन्त्रीको विरोध र बचाउमा दुवैथरीका तर्क-वितर्क र आलोचना भइरहेको छ ।















