काठमाडौं । आज राष्ट्रिय बाल दिवस नेपालमा धुमधामका साथ मनाईंदैछ । यो वर्षको बालदिवसको नारा ‘सुनिश्चित बाल अधिकार, सम्वृद्ध नेपालको आधार’ रहेको छ ।
यही अवसर पारेर नेपालमा रहेका विभिन्न संघसंस्थाहरुले बाल दिवस मनाउँदै आएका छन् । यो वर्ष पनि ती संघसंस्थाले विभिन्न कार्यक्रमहरु आयोजना गरी बाल दिवस माउने जनाईएको छ ।
त्यस्तै बाल दिवसकै अवसर पारेर हिजो नेपाल मानव धर्म सेवा समितिले आफ्नो कार्यालय परिसर गौशालामा विभिन्न कार्यक्रम आयोजना गरेको थियो । संस्कार युक्त बालदिवस मनाउने उद्देश्यका साथ समिति तथा विभिन्न संघसंस्थामा आवद्ध बालबालिकालाई एकै ठाउँमा भेला पारेर दिवस मनाइएको समितिले जनाएको छ ।
सानैदेखि योग साधनाको अभ्यास गराउन सके भविष्यमा स्वस्थ नागरिक बन्ने विश्वासका साथ कार्यक्रममा सन्त महात्माले बालबालिकालाई योग तथा साधनाको अभ्यास गराईएको जनाईएको छ । कार्यक्रममा बालबालिकाले गीत, नाटक, नृत्य जस्ता प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
बालबालिकाको विकास, संरक्षण, स्वास्थ्य र सहभागिता जस्ता विभिन्न अन्तर्राष्ट्रिय प्रतिवद्धता पुरा गर्न हरेक वर्ष भदौ २९ गते नेपालमा बाल दिवस मनाउने गरिएको छ ।


















