काठमाडौं : लोकतान्त्रिक संविधानको वार्षिकोत्सव मनाउने दिन नजिकिँदै आइरहेको बेलामा प्रमुख राजनीतिक दलहरुबीच भने तीव्र रुपमा एक अर्का प्रति फाटो बढिरहेको छ । सरकारले असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने तयारी गरे पनि सत्तारुढ समाजवादी पार्टीले सो दिवस नमनाउने घोषणा गरिसकेको छ ।
उता संविधान ल्याउनका लागि भूमिका खेल्ने दलहरुकै बीचमा पनि अहिले चरम विवाद छ । सरकार र सत्तारुढ पार्टी भने सरकारका कामकाजको आलोचनालाई ‘गणतन्त्र खतरामा पर्यो’ भन्ने चर्चा गर्दै हिँडेको अवस्थामा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले भने सरकार र सत्तारुढ पार्टीका तर्फबाट अहिले गणतन्त्र खतरामा पर्यो भनेका छन । गणतन्त्र खतरामा परेको विप्लब समूहको आन्दोलन वा पूर्वराजाका गतिविधिले नभएर सरकार र सत्तारुढ दलका गतिविधिका कारणले हो, उनले भने । ’’
उनले अगाडि भने,‘‘प्रमुख प्रतिपक्षी दलले शान्तिपूर्ण कार्यक्रम गर्दा पार्टीका जिल्ला सभापतिसमेत रहेकी ७० वर्ष पुगेकी बृद्धा महिलाको हात सत्तामा रहनेहरुबाटै भाँचिन्छ भने त्यसलाई के भन्ने लोकतन्त्रलाई कस्तो बनाउन लागेको भने अझ उहाँहरु आक्रमणमा संलग्न वडाध्यक्ष विरुद्ध किटानी जाहेरी गर्न पनि नदिने यस्तो पनि हुन्छ ’’
उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिएको एउटा अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । दाहालले अहिलेको व्यवस्था विरोधीहरुको प्रतिकार गर्न कार्यकर्तालाई एक कार्यक्रममा आग्रह गरेका थिए । डा। कोइरालाले भने,‘‘आफूहरु सत्तामा रहेर नसच्चिने अनि प्रतिकार गर्न पञ्चायतकालमा मण्डलेलाई निर्देशन दिइएजस्तो गर्ने ’’
उनले नेपालगञ्ज आक्रमणमा संलग्न खजुरा गाउँपालिका वडा नं १ का वडाध्यक्ष सुमन मल्ल विरुद्ध किटानी जाहेरी लिइए संसदको अवरोध खुल्ने समेत जनाए । ‘‘हाम्रो पार्टीका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर भनिसकेका छौं । उहाँले कुराकानीमा नरम कुरा गर्नुहुन्छ । तर काम भइरहेको छैन । ’’
शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउनु लोकतन्त्रको अधिकार भएको जनाउँदै उनले भने,‘‘हामी राणादेखि राजासम्म लडेर आएको पार्टीका कार्यकर्ता हौं । अब अहिले ओली वा प्रचण्डले तर्साउन खोजेकै भरमा तर्सिने कुरै आउँदैन ।’’ सरकारका गतिविधिहरु एकदलीय निरंकुशतातर्फ अघि बढिरहेको उल्लेख गर्दै प्रेसमाथि लगाउन लागिएको अंकुश र संवैधानिक निकायहरुलाई सरकार मातहतमा ल्याउने गरी चालिएका कदम आपत्तिजनक रहेको समेत उनले जनाए ।
नेपालगञ्ज घटनाको विरोधमा प्रमुख प्रतिपक्षी दलले केही दिन अघिदेखि संसद् अवरोध गरेका कारण संसदको बैठक असोज १ गते सम्मका लागि स्थगित भएको छ । उता संविधान नमान्ने भन्ने सत्तारुढ दल समाजवादी पार्टीले सोमबार जारी गरेको वक्तव्यमा भनिएको थियो,‘‘ २०७२ सालको विद्यमान संविधान त्रुटिपूर्ण एवं अपूर्ण रहेकाले संविधान जारी भएको दिनको खुसियालीमा दीपावली पनि नगर्ने र विरोधको रूपमा कालो दिन दुवै नममाउने र त्यस्ता कार्यक्रममा सहभागी नहुने समाजवादी पार्टीको केन्द्रीय कार्यकारी समितिको बैठकले निर्णय गरेको छ । ’’
संविधान मान्नेबीचकै तिक्ततापूर्ण सम्बन्ध तथा अर्का तर्फ संविधान नमान्नेहरुका गतिविधि अहिलेको अवस्थामा पेचिलो अवस्थामा देखिएका छन् । डा। कोइरालाले भने,‘‘सरकारमै रहेर संविधान मान्दिन भन्नेलाई सरकारले के गर्छ त्यो उसले जान्ने कुरा हो ।’’
संविधानको पहिलादेखि नै विरोध गर्दै आएका राजपाका नेता अनिलकुमार झाले संविधान ल्याइएको असोज ३ गतेको दिनमा आफूहरुले विरोध कार्यक्रम गर्ने तय भएको जनाए । उनले संविधान संशोधनका लागि आफूहरुले प्रधानमन्त्रीसम्मलाई भेटेर कुरा राखेको र संसदमा पनि भन्ने काम भइरहे पनि सुनुवाई नभएको गुनासो गरे ।


















