गृहमन्त्री बादलका भाइ धरौटीमा छुटे, अरु सबै जेल चलान

142

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशकुमार थापा अदालतबाट धरौटीमा रिहा भएका छन् । गुण्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका नरेश हिजो रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा नरेशलाई रिहा गरेको हो । उनीसँगै पक्राउ परेका अन्य ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहस सकिएपछि थापालाई बुधबार धरौटीमा छाड्ने आदेश दिएको छ ।

व्यवसायीलाई धम्क्याउँदै रकम उठाउन खोजेको आरोपमा नरेशसहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचांगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर पक्राउ परेका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा गुण्डा नाइके बस्नेत पक्राउ परेका थिए । अहिले उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here