चुनावमा भोट हाल्न गाउँ हिँडेकी ७७ वर्षीया वृद्धाको हत्या, डेढ महिनापछि पक्राउ परे नाति

82

खोटाङ । गत वैशाख ३१ गते खोटाङको बाराहपोखरी गाउँपालिका-५ स्थित दुधकोशी नदीको बगरमा खल्डोमा एक वृद्धाको शव शंकास्पद अवस्थामा फेला पर्‍यो।

प्रहरीको टोलीले शव फेला पार्दासम्म महिलाको शव सडीगली (गन्हाइसकेको) थियो। शवको पहिचान गर्नमै प्रहरीलाई केही दिन लाग्यो।  शव फेला परेको केही दिनपछि मृतक व्यक्ति खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानी खुट्टा घर भइ हाल सुनसरीको इटहरी उपमहानगरपालिका-१६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खड्का रहेको खुल्यो।   प्रहरीका अनुसार खड्का स्थानीय तहको निर्वाचनमा भोट हाल्न भन्दै वैशाख २६ गते इटहरीबाट गाउँ (खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानी खुट्टा) हिँडेकी थिइन्।

उनलाई उनका नाति झापाको गौरादह नगरपालिका-३ बस्ने २९ वर्षीय हरी भन्ने निर बहादुर खड्काले लिएर गएका थिए। उनै निरबहादुरलाई हजुरआमाको हत्या आरोपमा प्रहरीले  झण्डै डेढ महिनापछि पक्राउ गरेको छ।

१ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा स्थित नेपाल–भारत सीमा क्षेत्रमा लुकीछिपि बसिरहेको अवस्थामा निरबहादुरलाई असार ८ गते बिहान पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

प्रहरीका अनुसार भोट हाल्नका लागि गाउँ पुर्‍याउने भनेर लगेकी हजुरआमालाई निरबहादुरले  बराहपोखरी-५ स्थित दुधकोशी नदीको बगरमा कर्तब्य गरी मारी खाल्डोमा पुरेर भागेका थिए।   पक्राउ परेका निरबहादुरमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here