क्यान महासंघमा नयाँ नेतृत्व

219

हेटौडा /  सूचना तथा संचार प्रविधिसँग सम्बन्धित व्यक्ति, व्यवसायी र संघसंस्थाहरुको छाता संगठन कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश ३ को दोस्रो बार्षिक साधारण सभा तथा अधिवेशन प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा हेटौडामा सम्पन्न भयो ।

प्रदेश ३ का अध्यक्ष प्रभात श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवर, उपाध्यक्ष सुनैना घिमिरे, महासचिव रंजित कुमार पोद्दार, सचिव नारायण थापा, सहकोषध्यक्ष शेखरनाथ दुलाल लगायतले देश विकासको मुख्य औजारको रुपमा रहेको सूचना तथा संचार प्रविधिलाई समृद्धिको मुख्य हतियारको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारको समृद्धि र डिजिटल प्रदेश निर्माण अभियानमा साथ दिन क्यान महासंघलाई आग्रह गरे । उनले ग्रामीण क्षेत्रसम्म प्रविधिको विस्तार र पहुँचका लागि महासंघको हरेक यात्रामा प्रदेश सरकारले पूर्ण रुपमा साथ दिने बताए । साधारण सभाले सचिव मनोजकुमार न्यौपानेद्वारा प्रस्तुत कार्यप्रगति प्रतिवेदन र भावी कार्ययोजना तथा कोषध्यक्ष किरण श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।

अधिवेशनले काभ्रेका मनोजकुमार न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । न्यौपाने क्यान काभ्रेका पूर्व अध्यक्ष हुन् । उनको कार्यकालमा क्यान काभ्रेले पहिलो पटक सूचना प्रविधि पार्कमा क्यान इन्फोटेक, मकरमेलाको अवसरमा पदयात्रा, आइसिटी छात्रवृत्ति कोष स्थापना, इभिलेज समन्वय समितिको अवधारणबाट जिल्लाका ११ वटा गाविसमा इभिलेज कार्यक्रम संचालन लगायतका कार्यहरु गरेको थियो ।

कार्यसमितिमा उपाध्यक्ष विष्णुप्रसाद लामिछाने (चितवन), सचिव किरण श्रेष्ठ (सिन्धुली), कोषाध्यक्ष निर्जन श्रेष्ठ (सिन्धुपाल्चोक) र सदस्य रामकुमार श्रीवास्तव (मकवानपुर) निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष न्यौपानेले प्रदेश कार्यसमिति मूलतः केन्द्रीय समिति र जिल्ला कार्यसमितिबीच सम्पर्क, समन्वय र सूचना आदान प्रदान गर्ने पुलको रुपमा क्रियाशील रहँदै प्रदेशको समृद्धिको यात्रामा अगाडि बढ्न सूचना प्रविधिलाई औजारको रुपमा परिचालन गर्ने कार्यमा प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय, सहकार्य र हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here