-नारद कोहार
कपिलवस्तु / स्कुटर दुर्घटनाबाट मृत्यु भएकी लक्ष्मी आचार्यको शव कपिलवस्तु ल्याउन लागिएको छ । वाणगंगा नगरपालिका वडा नं ५ निवासी आचार्यको शव बुटवलबाट कपिलवस्तु ल्याउने तयारी भएको हो ।
जितपुर–तौलिहवा सडकखण्ड अन्तर्रगत पचेहरा–निगालीकोटको बीचमा स्कुटर दुर्घटनाबाट गम्भिर घाइते हुनुभएकी आचार्यलाई बुटवल लगिएको थियो । आइतबार साँझपख दुर्घटना भएपनि उहालाई तत्काल उद्धार गर्न नसक्दा ज्यान गएको हो ।
टाउकोमा गम्भिर चोट लागेको कारण उहाँको अत्याधिक रक्तस्राव भएको थियो । रक्तस्रावकै कारण उहाँको ज्यान गएको हो ।
दुर्घटना भएको झण्डै पौने घण्टा सम्म उहाँलाई दुर्घटनास्थलबाट अस्पताल लैजान नसकिएको बताइएकोछ । एम्बुलेन्स समयमा पुग्न नसक्दा र प्रहरीलाई खबर गरेपनि तत्काल रेस्पोन्स नगर्दा समयमा नै अस्पतालमा लैजान नसकिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आचार्यको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । उहाँको शब पोस्ट्मार्टम गरेर कपिलवस्तु ल्याउने तयारी भैरहेको पत्रकार हरि अधिकारीले जानकारी दिनुभयो । उहाँको सोमबार नै लक्ष्मणघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।


















