काठमाडौं / प्लास्टिकको चामलबारे उजुरी बढ्दै गएको छ । प्लास्टिकको चामलको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण मर्हजनले सञ्चारमाध्यमलाई जानकारी दिएअनुसार अनुसार विभागमा एक वर्षको अवधिमा प्लाष्टिकको चामल खुवाइएको भन्दै २५ भन्दा धेरै उजुरी देशभरीबाट प्राप्त भएको छ ।
विभागको क्षेत्रीय तथा प्रदेश कार्यालयहरु विराटनगर, इनरुवा लगायतमा पनि यस्ता उजुरी परेका छन् । भात चाम्रो भएको अवस्थामा चामलमा प्लास्टिकको नक्कली चामल मिसाइएको भन्दै धेरै उजुरी परेको जनाइएको छ ।
सामाजिक सञ्जालमा प्लास्टिकको चामल भिडियो भाइरल भएपछि त्यसको आधिकारिकता भने कतै पनि पुष्टि नभएको विभागले जानकारी दिएको छ । केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्लाष्टिकको चामल, अण्डा र पिठो भेटिएको भन्दै प्रकाशित समाचार तथा प्रचार तथ्यहिन भएको भन्दै विभागले हल्लाको पछि नलाग्न सर्वसाधरण उपभोक्तालाई आग्रह गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार कसैले खेलौनाका लागि बनाएको अवस्थामा बाहेक संसारभर प्लास्टिकको चामल बनाइएको कुनै वैज्ञानिक प्रमाण छैन । प्लास्टिकलाई चामल जस्तो देखिने बनाउन लाग्ने खर्चभन्दा धानको चामल उत्पादन गर्नु कयौं गुणा सस्तो पर्ने भएकाले कसैले यस्तो मुर्खता गर्नै नसक्ने विभागका प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत महर्जनले जनाए ।
देशैभरबाट उजुरी र गुनासोहरु आउन थालेपछि बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक सूचना नै जारी गरेर चामल, अण्डा र पिठो प्लाष्टिकको नहुने स्पष्ट पारेको छ । विभागले अहिलेसम्म गरेको परीक्षणमा यस्तो कुनै प्रकारको प्रमाण नभेटिएको हुनेले यो सबै तथ्यविहीन भ्रम भएको जनाएको छ ।
















