काठमाडौं । अबदेखि एटिएम बुथमा अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नु पर्ने भएको छ। चिनियाँहरुले एटिएम बुथबाट साढे तीन करोड झिकेपछि राष्ट्र बैंकले सुरक्षा गार्ड अनिवार्य राख्नु पर्ने ब्यवस्था गरेको हो ।
एटिएम बुथहरुमा कुनै ब्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा त्यसको खबर सुरक्षा गार्डले गर्नु पर्ने छ। यसअघि शाखा कार्यालय लुटिँदा राष्ट्र बैंकले सबैतिर सिसि क्यामेरा र सुरक्षा गार्ड राख्नु पर्ने ब्यवस्था गरेको थियो । अहिले शाखाहरुमा सुरक्षा गार्ड राखिएपनि एटिएममा अनिवार्य थिएन ।
तर, चाडपर्वलाई मध्यनजर गर्दै बैंकले सुरक्षा गार्ड राख्नुपर्ने आवश्यक रहेकोले एटिएमको सुरक्षाकै लागि भएपनि यो व्यवस्था गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । बैंकले अति व्यस्त स्थानमा भएका एटिएममा सुरक्षा दिए ठूलो क्षति हुनबाट जोगिने उनको भनाई छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग ३ हजार ३१६ वटा एटिएम बुथ छन्। यसमध्ये अधिकांस बैंकिङ अफिससँगै छन् भने कतिपय बेग्लै पनि राखिएका छन्।


















