काठमाडौं / विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारिखका दिन नर्भिक अस्पतालले विश्व मुटु दिवसको सुरुवात गरेर मनाएको छ ।
विश्व मुटु दिवसका अवसरमा संसारभर नै वृहत् मुटु परीक्षण/प्रशिक्षण शिविरहरू, वैज्ञानिक एवम् चिकित्सकीय गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतनाको अभिवृद्धि गराउने खालका प्रबचनलगायत प्रभातफेरि जस्ता कार्यक्रमहरू गरिन्छन् ।
यसै सन्दर्भमा नर्भिक अस्पतालले गतवर्ष विविधखाले मुटुरोगका सफलतापूर्वक उपचार गराई नव जीवन प्राप्त गरेका विरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणलाई संलग्न गराई आज काठमाडौंमा एक वृहत् प्रभातफेरि कार्यक्रमको आयोजना गरियो ।

उक्त प्रभातफेरिमा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्रा.डा. यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागी थिए । प्रभातफेरि बिहान ६ः३० बजे नर्भिकको प्राङ्गणबाट सुरु भई कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो ।
सेप्टेम्बर २८ तारीख अर्थात् भोलि असोज ११ गते शनिबार विहान ११ः३० बजे निर्धारित नर्भिकको विश्व मुटु दिवस २०१९ को औपचारिक कार्यक्रम आयोजना गरिने कार्यक्रम तय भएको छ भने सोहि दिन उक्त औपचरीक कार्यक्रम पूर्व विहान ८ः०० बजे देखि १०ः०० बजे सम्म मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्ष लगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम छ ।
प्रशिक्षण प्रा.डा भट्टसहितको मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिकको ओ.पी.डी विभागमा दिनेछ ।

















