अफगानिस्तान / अफगानिस्तानमा तालिवान लडाकुहरूले गरेको शृंखलाबद्ध विस्फोटका बाबजुद नयाँ राष्ट्रपतिका लागि मतदान भएको छ । वर्तमान निर्वाचन सन् २००१ मा तालिबान अन्त्य भएपछि देशमा चौथो आम निर्वाचन हो ।मतदान गर्ने क्रम देशै भरी सुरु भएको छ र मतदान केन्द्रहरूमा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको छ ।
यो निर्वाचनमा तालिवान विद्रोही सुरक्षाको लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । सेप्टेम्बरमा अमेरिकासँग एक वर्षदेखि भइरहेको शान्ती वार्ता अन्तिम समयमा भंग भयो । त्यस यता तालिवानले राष्ट्रपति निर्वाचनलाई असफल बनाएर बदला लिन खोजिरहेको छ ।
हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि अफगान तालिवानकै कारण दुईपटक निर्वाचन सारिएको थियो । केही समयअघिको अमेरिका र तालिवान विद्रोही समूहबीचको शान्तिवार्ता भंग भएपछि यो निर्वाचन आयोजना गरिएको हो ।
हाल अफगानिस्तानको प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह र निवर्तमान राष्ट्रपति असरफ घानीबीच यस पदका लागि प्रतिस्पर्धा भइरहेको छ । सन् २०१४ देखि दुवै जना सत्तामा छन् । अफगानिस्तानको यस राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएको र्यालीमा भएको विस्फोटमा परी कम्तीमा २६ जनाले ज्यान गुमाएका थिए ।

















