-सुरज घिमिरे
अर्घाखाँची / अर्घाखाँचीको छत्रदेव गाँउपालिका ४ केरुङ्गाको कोटमुनिका रामबहादुर सुनारको परिवार विभिन्न समस्यामा अल्झिएको छ ।
उमेरले ४१ वर्ष लागेका रामबहादुरले एक वर्षअघि ब्लड क्यान्सर लागेका ५ वर्षका छोरा विष्णुलाई आर्थिक अभावले उपचार गर्न नसकेर गुमाउनु पर्यो । छोरा गुमेको एक वर्ष नहुँदै फेरि उनको परिवारमा बज्रापात थपिएको छ। उनका दुई छोरी मध्ये एकलाई ब्लड क्यानसर र अर्कीलाई मुटु रोगबाट पीडित छिन् ।
‘जो होचो, उसैका मुखमा घोचो’ भनेजस्तै भएको छ, यो सुनार परिवारमा । अर्कोको काम गरेर दैनिक चलाउने रामबहादुरकी ९ वर्षकी छोरी सुुष्मा रगतको क्यान्सरबाट पीडित छन् । ७ वर्षकी सृष्टि मुटु रोगी छन् । आर्थिक अभावले अस्पताल लैजान नसकेर घरमै राख्नु पर्ने बाध्यता सुनारले सुनाए । मजदुरी गरेर बिहान बेलुका छाक टार्ने उनले पैसा अभावले छोरीहरूलाई उपचार गर्न लैजान नसकेको बताए।
सुष्मालाई भरतपुरस्थित क्यान्सर अस्पताल र सृष्टिलाई काठमाडौंको गंगालाल अस्पताल लैजान डाक्टरले सुझाव दिएका छन् । उपचार त के अस्पताल लैजान भाडा पनि नभएको विलौना गर्छन् सुनार ।
सम्पत्तिको नाममा गाउँको एउटा सानो घर र गाउँको एक रोपनी पाखो मात्रै रहेकोले छोरीहरुलाई पनि छोरालाई जस्तै गुमाउनु पर्ने हो कि भन्ने चिन्ताले आमा कमलालाई सताएको छ ।
सुष्मा र सृष्टि दुवै स्थानीय चन्द्रज्योति आधारभूत विद्यालयमा पढ्ने बालबालिका हुन् । सुनारकी ७ महिनाकी अर्की छोरी छन् । परिवार नियोजनका साधन र गर्भान्तर सम्बन्धी ज्ञानको अभावमा कमला पुनः गर्भवती छन् ।
दुई छाक खान र बालिकाहरुलाई कसरी खुवाउने भन्ने अवस्थामा रहेको सुनार परिवारले कोही सहयोगीले सहयोग गरिदिए दुवै छोरीको उपचार गराउने इच्छा राखेको छ । छत्रदेव गाउँपालिकाले विपन्न आर्थिक अवस्था रहेको सिफारिस पत्र बनाइदिएको छ, तर अहिलेसम्म कहिँकतैबाट आर्थिक सहयोग भने जुट्को छैन ।


















