काठमाडौं । सुन लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले संगठनकै एक अधिकृतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामालाई पक्राउ गरेका हो । काठमाडौं प्रहरी परिसरका अनुसार लामालाई मंगलबार दिउँसो पक्राउ गरेको हो । विस्तृत अनुसन्धान अब सुरु गर्ने परिसरले जनाएको छ ।
अदालत विदा भएकाले उनको म्याद थप भएको छैन । काठमाडौं प्रहरीका घुमुवा लामाको सूचनाको आधारमा तीन पटक सुन र एक पटक हतियार पनि बरामद भएको जनाईएको छ ।
तर, ३ असोजमा उनकै संलग्नतामा बौद्धबाट सुन लुटिएको उजुरी परेपछि लामा फरार भए । लुटपाटमा संलग्न समूहका एक सदस्यले प्रयोग गर्ने मोटरसाइकल लामाको नाममा भएको भेटिएकोले प्रहरीले थप सूचना संकलन गरेको थियो ।
प्रकरणमा संलग्न लिखु–तामाकोशी गाउँपालिकाका राकेश तामाङ पक्राउ परिसकेका छन् भने अन्यको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

















