एजेन्सी / युरोपेली मुलुक इटालीमा एक सय २४ रुपैयामा घर पाइन्छ यो सुन्दा अचम्म लाग्न सक्ला यस्तो महंगी जमामना विश्वास नलाग्न सक्छ धेरैका लागि सपना जस्तै होला । तर तर यो खबर पढ्यो भने रोमाञ्चित हुनुहुनेछ। किनकी इटालीको सिसिलीको एक नगर परिषदले विदेशीहरुलाई त्यहाँ घरजम गर्न सघाउ पर्याउने निकै गज्जबको कार्यक्रम अघि सारेको छ । अफर अनुसार त्यहाँ केवल १ युरो अर्थात् झण्डै १ सय २५ रुपैयाँ तिरेर घर खरिद गर्न सकिनेछ ।
सिसिलीको ग्रामीण इलाकामा पर्ने सम्बूका गाउँका अधिकारीहरुले लगातार घटिरहेको जनसंख्याको समस्या समाधानका लागि यस्तो विशेष योजनाको घोषणा गरेका हुन् ।
जस अनुसार मानिसहरुको बसाइँ सराइँसँगै खाली भएका घरहरुलाई अब १ युरोमा बेचिनेछ । पहिले निकै धेरै रहेको उक्त गाउँको जनसंख्या अहिले घटेर झण्डै ६ हजार रहेको छ ।
सम्बूका नगर परिषदले गाउँमा खाली रहेका घरहरु खरीद गरी एक युरोमा बेच्नेछ । विश्वभरका मानिसहरुलाई उक्त गाउँमा बसोबासका लागि आकर्षित गर्ने योजना नगरपरिषदको रहेको छ ।
हालसम्म गाउँका ६० वटा घर बिक्री गरिएकोमा अधिकांस विदेशीहरुले खरीद गरेका अधिकारीहरुले जनाएका छन् । अझ त्यसमा लेखक, कलाकार, संगीतकार समेत घर किन्नेमा रहेका छन् । विश्वका विभिन्न देशका मानिसहरु गाउँमा आएर बसोबास गर्न सुरु गरेकोमा अधिकारीहरु मख्ख छन् ।
१ युरोमा घर किनिसकेपछि उक्त घरको मर्मतको खर्च भने नयाँ घरमालिकको नै हुनेछ । मर्मतका लागि ३ वर्षको समय दिइन्छ ।
बसोबास बढाउने सम्बूका गाउँका त्यो योजना इटालीका अन्य गाउँहरुले पनि पछ्याउन थालेको जनाइएको छ ।

















