नेपालले चीनसँग के माग्ने भन्दापनि के सहकार्य हुनसक्छ भन्नेतर्फ सोच्नुपर्छ : पूर्वमन्त्री थकाली

236
काठमाडौं /  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् । उनले भनिन्,‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’ सीको नेपाल भ्रमणले देशको उचाई ठूलो हुने उनको विश्वास छ । उनले भनिन्,‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको धारणा छ । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा उनले सी भारत हुँदै नेपाल आउन लागेको बताईन् । उनले भनिन्,‘चिनियाँ राष्ट्रपति यतिवेला भारतमा हुनुहुन्छ, मोदीसँग उहाँको कुराकानी भैरहेको छ । सी र मोदीबीच राम्रो कुरा भयो भने त्यसले नेपाललाई पनि ठूलो फाईदा हुन्छ । यसले नेपाललाई पनि सफल राष्ट्र बनाउन सक्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले गिरिजा प्रसाद कोइरालाले भारत र चीनबीच राम्रो सम्बन्ध भयो भने त्यसले नेपाललाई हित र राम्रो हुन्छ भन्ने गरेको सुनाउँदै भनिन्,‘गिरिजाबाबु भन्नुहुन्थ्यो भारत र चीनबीच मित्रता भयो भने नेपाललाई पनि फाईदा हुन्छ । नेपालको उन्नति हुन्छ भन्नुहुन्थ्यो । र, मेरो सोचमा हामी अगाडि गयौं भने यो रिजनलाई नै फाईदा हुन्छ । एशियालाई नै फाईदा हुन्छ । त्यसैले अहिले भारतमा भैरहेको मोदी र सीको वार्ताको पनि ठूलो महत्व छ । मेरो त त्यो वार्ताको बारेमा पनि उत्सुकता छ ।’

उनले चिनियाँ राष्ट्रपति सी नेपाल आउनु धेरै रम्रो भएको जनाउँदै  विपीको पालादेखि चीनसँग मित्रता भएको सुनाईन् । उनले भनिन्,‘चीनलाई हामीले बढि महत्वको साथ हेरेका छौं । हाम्रो राम्रो सम्बन्ध रहँदै आयो । चीनले नेपालाई संकट पर्दा सहयोग गर्दै आएको छ । हरेक नेपालीहरुको मुखमा अहिले दशैं छ, ठूलो चाडपर्व छ । तर, उनीहरुले अब नेपाल विकास हुन्छ भनिरहेका छन् । उनीहरु अहिले केरुङ, किमाथांका नाका, बाटो, सुरुङमार्गको कुरा गर्छन् । नेपालले अब एउटा ठूलो फड्को मार्छ । अब विकास हुन्छ । स्थायित्व र शान्ति आउँछ भन्ने कुरा नेपालीको मनमा रैछ । यो उत्साहजनक कुरा हो ।’

सीको भ्रमणको पूर्वसन्ध्यामा नेपालीहरुले सबै कुरा बिर्सिएर विकासको कुरा गर्नु भनेको यसले एउटा ठूलो परिवर्तन ल्याउँदैछ भन्ने संकेत भएको पनि नेतृ कोइरालाको टिप्पणी छ । उनले भनिन्,‘ जनताले चाहेको नै विकास हो । स्थायित्व र शान्तिले नै देशमा विकास हुन्छ । सीको भ्रमणबाट नेपालले केही पाएपनि वा नपाएपनि उहाँ नेपाल आउनुनै एउटा महत्वपूर्ण कुरा हो । हामी सबै पूराना तिता कुराहरु बिर्सिएर विकासको कुरामा मात्रै लागिरहेका छौं । यो नै एउटा ठूलो उपलब्धि हो भन्ने मलाई लागेको छ । एउटा नयाँ बाटोमा हामी हिँड्न लागेका छौं । देशले एउटा नयाँ मोड लिन्छ भनेर म उत्साहित छु ।’

गिरिजाबाबुले जहिल्यैपनि ‘एक चीन नीति’ लाई नै समर्थन गर्दै आएको सुनाउँदै कोइरालाले भनिन्,‘उहाँ प्रधानमन्त्री हुँद्या स्टेट भिजिटमा जानुभयो । पार्टीको सभापति हुँदापनि उहाँ  पार्टी–पार्टी सम्बन्ध बनाउनको लागि दुई चोटी प्रतिनिधिमण्डल लिएर चीन जानुभयो । एकचोटी उहाँसँग म पनि गएको थिएँ ।  छिमेकीसँग पिपुल–टु–पिपुल रिलेशनपनि हुन्छ । पार्टी–टु–पार्टी रिलेशनपनि हुन्छ । यसलाई गलत हिसाबले हामीले सोच्नुहुँदैन् । गिरिजाबाबुले सिपिसी पार्टीलाई नेपालमा आमन्त्रित गर्नुभएको थियो । उनीहरु पनि नेपाल आएका थिए । यो गर्नुपर्छ । हामीले पनि यसलाई निरन्तरता दिन्छौं ।’

उनले नेपालमा रेल ल्याउने कुरा खुशीको कुरा भएको बताईन् । उनले भनिन्,‘ट्रेन, कनेक्टिभिटी भनेको यसको धेरै महत्व छ । पूर्वाधार विकासको लागि बाटो हो । विकासको पूर्वाधार नै बाटो हो । सुरुमा मलाई पनि ट्रेनको कुरा गर्दा अर्के लाग्दथ्यो, तर धेरै अध्ययन गरेपछि ट्रेन चाहिन्छ भन्ने निश्कर्षमा म पनि पुगेको छु । भारतबाट र चीनबाट पनि काठमाठौं ट्रेन आउँछ । यो भयो भने दुवै देशबाट नेपालमा लाखौंको संख्यामा पर्यटकहरु आउँछन् । उनीहरुलाई नेपाल आवागमनमा सहजता हुन्छ । यो आवश्यकत्ता छ । सुरुवात हुन्छ भनेको सुन्छु । हामी स्वागत गर्छौं ।’

चीनसँग नाका खोल्ने कुरापनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गरेको उनको जिकिर छ । उनले भनिन्,‘चीनसँग नाका खोल्ने कुरा नेपाली कांग्रेसले गरेको हो । चीन अहिले आर्थिक रुपमा दोस्रो ठूलो शक्ति हो । चीन बलियो भएको छ । अहिले नाका खोल्नेबारे महत्व दिएको छ । परिस्थिति परिवर्तन भएको छ । नाका खुल्छ । यो खुशीको कुरा हो ।’ चीनको बिआरआई परियोजना राम्रो भएको सुनाउँदै यसबाट नेपालले पनि ठूलो लाभ लिनसक्ने उनको तर्क छ । उनले थपिन्,‘हामीले योमार्फत धेरै परियोजना ल्याउन सक्छौं । लगानी ल्याउन सक्छौं ।’

त्यस्तै, उनले रेलवे ल्याउने कुरामा पनि सबै कुरामा नेपालले अनुदानमात्रै खोज्न नहुने तर्क गरिन् । उनले भनिन्,‘केरुङ–काठमाडौं रेलको जो कुरा छ, हामी सबै अनुदान नै खोज्छौं । हामी नेपालीहरुको बानी बिग्रिएको छ । हामीले पनि मेहनत गर्नुपर्छ । मगन्तेजस्तो सबै कुरा लिनु राम्रो होईन । निःशुल्क देउ भन्नुहुँदैन् । हामीले ऋण लिनुपर्छ । सहुलियत व्याजमा ऋण पाउनुपर्छ । रेल होस वा अरु कुनै परियोजना बनाउँदा त्यसमा हामीले आफ्नो अपनत्व लिनुपर्छ । सस्तो व्याजमा ऋण लिनुपर्छ । नेपाल सार्वभौम र स्वतन्त्र देश हो । हामीले थोरै भएपनि ईनपुट दिनुपर्छ, त्यसो गर्न सकियो भने कसैको दास भएको हुँदैन् । नेपालीले बनाएको हो । यो रेल हाम्रो हो भन्ने भावना हुन्छ । आत्मसम्मान हुन्छ । केही थोरै भएपनि हाम्रो ईनपुट दिनुपर्छ ।’

नेतृ कोइरालाले चीनबाट लगानी ल्याउनु्पर्नेमा जोड दिईन् । उनले नेपाल विपत्तमा पर्दा पनि चीनले ठूलो सहयोग गरेको सुनाईन् । उनले भनिन्,‘भुकम्प, बाढी, पहिरोले नेपालले धेरै दुःख पायो । प्रकृतिले पनि हामीलाई सहयोग गरेन् । चीनमा प्रविधि एकदम आधुनिक छ । उनीहरुले नयाँ नयाँ आविष्कार गरेका छन् । बाटो चाँडो र बलियो बनाउने उनीहरुको प्रविधि छ । हाम्रा ठेकेदारलाई पनि तालिम दिनुपर्छ । चीनबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो र कसिलो बनाउने सुनाए । उनले भने,‘चीन हाम्रो छिमेकी, अत्यन्तै घनिष्ठ र भरपर्दो मित्र हो, चीनको राष्ट्रपतिको भ्रमण हुँदैछ, यो खुशीको कुरा हो ।’

चीनबाट २३ वर्षसम्म यो स्तरको नेपाल भ्रमण हुन नसक्नुको कारण नेपालमा राजनीतिक स्थायित्व नहुनु नै प्रमुख कारण रहेको उनको संकेत छ । उनले भने,‘अब यसको कुरा गर्दा भ्रमण गर्ने र गराउने मुलुकको अवस्था र तयारी पनि हुन्छ । हामी संविधान निर्माणमा धेरै व्यस्त रह्यौं । राजनीतकि अस्थिरता रह्यो । हामीले संविधान निर्माणलाई नै प्राथमिकता दियौं । सबै दल मिलेर एक ढिक्का भएर वर्तमान संविधान निर्माण गरेका छौं । अहिले राजनीतिक रुपमा नेपालमा स्थिरता आयो । यो कुरा पूरा विश्वले हेरेको छ।’

उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणको लक्ष्य भनेको नै मित्रताको गाँठोलाई अरु कसिलो,  दरिलो बनाउने र सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने रहेको स्पष्ट पारे । उनले भने,‘नेपाल र चीनबीच एक–आपसमा पारस्परिक लाभका आधारमा सम्बन्ध गर्नुपर्छ । भाषण गरेर सम्बन्ध सुदृढ हुँदैन् । व्यवहारमा जानुपर्छ । हामीले चीनलाई के सहयोग गर्ने र हामीलाई चीनले के सहयोग गर्ने भन्ने कुरामा पारस्परिक लाभ हेर्नुपर्छ। कनेक्टिभिटी भनेको रोडमात्रै होईन, यसका धेरै आयाम छन् । अहिले हाम्रो ध्यान गएको छ ।’

उनले आफूहरुलाई नेपालको विकास र समृद्धिलाई ध्यानमा राखेर अर्थतन्त्रलाई अगाडि बढाउन चाहेको पनि सुनाए । उनले भने,‘चीन आज लगानीको हिसवाले नम्बर एक र अर्थतन्त्रको हिसवाले विश्वमै दोस्रो हो । नेपालको परराष्ट्र नीति, राष्ट्रिय चासो हामीले संविधानमा उल्लेख गरेका छौं । स्वाधिनता, स्वाभिमान, सार्वभौमसत्तालाई हामीले राष्ट्रिय स्वार्थमा परिभाषित गर्छौं ।’

चिनियाँ प्रविधि नेपालमा कसरी लागु गर्न सक्छौं भन्नेबारे नेपालले सोच्नुपर्ने उनको भनाई छ । उनले भने,‘शिक्षा र स्वास्थ्य क्षेत्रमा उसको प्रविधिको उपयोग गर्नुपर्छ । हाम्रा उत्पादन वस्तुहरुलाई चिनियाँ बजारमा कसरी पुर्ुयाउन सक्छौं भन्नेबारे सोच्नुपर्छ । यो गर्न सकियो भने व्यापार घाटा सन्तुलन गर्न सक्छौं ।’

बिआरआई र आईपिएस विल्कुल भिन्न भएको उनको भनाई  । पाण्डेले भने,‘कन्टेन्ट हेर्नुपर्छ । दुईवटै कुरामा सैनिक रणनीति छ भने हामी स्विकार्दैनौं । कुटनीतिक रुपमा हामीले यो पक्षमा असंलग्न राष्ट्र, शान्तिकामी, बुद्धका नागरिक, हामी यो हतियारको राजनीतितिर हामी जान चाहँदैनौं भनेर भन्नुपर्छ । अबको दुनियाँलाई परिवर्तन गर्ने र विचारलाई परिवर्तन गर्ने बलबाट होईन विचारले गर्ने हो ।’

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा रसुवा–काठमाडौको बाटो नम्बर एक प्राथमिकतामा परेको पनि उनले सुनाए । ‘यो बाटोलाई उन्नती गर्ने, सुरुगमार्ग पनि बनाउन्ुपर्छ ।’–उनले भने,‘ किमाथांका नाका, कोरिडोर खुल्ला गर्नुपर्छ । नेपाल शीर ठाडो छ । सगरमाथाजतिकै शीर ठाडो गरेर राष्ट्रको सर्वाभौमिकतालाई जोगाउनुपर्छ । मित्रराष्ट्रहरुसँग हातेमालो गरेर समृद्धि गर्ने हो । आफ्नो हितअनुसार अघि जाने हो ।’

सीको यो भ्रमणमा रेलवे ल्याउनेबारे छलफल हुने र सहमति हुनेपनि उनले विश्वास दिलाए । उनले थपे,‘केरुङ–काठमाडौं रेलवेबारे हामी भर्खर फिजिविलटी अध्ययन गर्ने अवस्थामा छौं । त्यसपछि डिपिआर तयार हुन्छ । अनिमात्रै खर्चको कुरा हुन्छ । कहाँबाट जुटाउँछौं । स्रोतको विषयमा कुरा हुन्छ । नेपालको अर्थतन्त्रको बारेमा मित्रराष्ट्रहरुले पनि बुझेका छन् ।, नेपाललाइृ सहयोग गर्दा अलिक बढि ग्रान्ट वा सफ्ट लोन दिनुपर्छ भनेर उहाँहरुले बुझ्न्भएको छ। अनि नेपालले आफने आन्तिरक स्रोत र साधनलाई प्रयोग गर्नुपर्छ । चीनबाट मात्रै होईन, भारतबाट पनि रेल ल्याउनुपर्छ । रक्सौलदेखि काठमाडौंसम्म पनि रेल आउँदैछ । यो बारेमा डिपिआर, फिजिविलीटी गर्ने कुरा छ ।’ उनले नेपाल अब ल्याण्डलिंक्टमा जोडिने स्पष्ट पारे ।

उनले भारत र चीनलाई फरक फरक आँखाले हेर्न नहुने पनि तर्क गरे । उनले भने,‘चिनियाँ राष्ट्रपतिको यो भ्रमण चीन र नेपाल दुवैको हितमा हुन्छ । सफल रुपले सम्पन्न हुन्छ । आउने दिनमा विकास निर्माणका ढोकाहरु खुल्नेछन् ।’ भ्रमणको क्रममा के–के भाईवल हुन्छ, ती प्राथमिकताका आधारमा हस्ताक्षर हुनेपनि उनले जनाए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले चिनियाँ राष्ट्रपति सीलाई सम्पूर्ण नेपालीले स्वागत गर्न पाउनु ऐतिहाँसिक अवसरमात्रै नभएर यसले दुरगामी प्रभाव राख्ने स्पष्ट पारेका छन् । उनले भने,‘यी भ्रमणहरु यो लेभलमा हुनु आँफैंमा नेपाल र चीन सम्बन्धले एउटा संकेत गरिरहेको हुन्छ, अब नेपालको नीति कहाँनेर जाँदैछ ? किनभने हामी संविधान निर्माण गरिसकेको अवस्थामा छौं । तीनै तहको निर्वाचन सम्पन्न भएर बहुमत प्राप्त सरकारले शासन व्यवस्था सञ्चालन गरेको अवस्था हो ।’

नेपालबाट पनि चीनमा उच्चतम तहका भ्रमणहरु भएको सुनाउँदै उनले भने,‘यसलाई एकप्रकारले भन्दा रेसिप्रोकल भन्दापनि चीनले महत्व दिएको अवस्था हो । नेपालले अंगीकार गरेको परराष्ट्र नीति असंलग्नता, शान्तिपूर्ण र पञ्चशीलको आधार नै हो । संविधानले व्यवस्था गरेको जग हो । त्यो जगमा उभिएर हामी दृढताका साथ छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समूदायसँग हामी जति सहकार्य गर्न सक्छौं, त्यति नै चाँडो हामीले राखेको लक्ष्यमा गन्तव्यमा पुग्न सक्छौं । हामीलाई यसले सघाउ पुग्छ।’

पूर्वमन्त्री थकालीले चीन तिब्बतसँग आफ्नो क्षेत्र जोडिएको सुनाउँदै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हेर्दा चिनियाँहरुले नेपाल र नेपालीहरुप्रति देखाएको सम्मान र सद्भाव भएको पनि तर्क गरे । उनले भने, ‘नेपाल सरकारले यथेष्ट तयारी गरेको हुनैपर्छ । नेपालले चीनसँग के माग्ने भन्दापनि नेपाल र चीनबीच के सहकार्य हुनसक्छ भन्नेतर्फ सोच्नुपर्छ । सहकार्य नै महत्वपूर्ण कुरा हो ।’

उनले चीन र नेपालको सम्बन्धको कुरा गर्दा पाँच सिद्धान्तमा आधारित रहेको सुनाउँदै आफूहरु त्यही सिद्धान्तबाट प्रेरित रहेर काम गरिरहेको पनि बताए । उनले भने,‘हामीबीच एकाद केही कुराहरुमा झिनामसिना गुनासोहरु आए होलान् । ती आफ्नो ठाउँमा रहे होलान् । तर, सम्बन्धमा उतारचढाव आएका छैनन् ।’

नेपालसामू चिनियाँ पक्षले राख्ने कुरा भनेको नै सुरक्षासम्बन्धी चासो भएको उनको भनाई छ । उनले भने,‘नेपालले आफ्नो क्षमता र संयन्त्रले भ्याएसम्म छिमेकी र अन्तर्राष्ट्रिय जगतको चासो सुरक्षामा नेपालले आफ्नो भूमी कसैकोविरुद्ध प्रयोग गर्न दिँदैन । आतंकवादी गतिविधिको नेपाल भूमि भएको छैन् । नेपाल एक चीन चीनि नीतिप्रति पूर्ण प्रतिबद्ध छ । हामीले लिएको एक चीन नीतिप्रति चिनियाँ सरकारपनि हामीप्रति आभारी छ ।’

उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे सरकारले भ्रमणको बारेमा केन्द्रित भएर चलाएको छलफल सराहनीय रहेको पनि प्रतिक्रिया दिए । उनले भने,‘यो सरकारले नेपाली जनता र नेपालको हितमा आफ्नो कुरा गर्छ । गर्छ भन्ने संकेत मिलिरहेको छ । सरकारलाई पार्टीको तर्फबाट र म राजनीतिकर्मीको तर्फबाट धन्यवाद दिन्छु ।’

थकालीले केरुङ–काठमाडौं रेल ल्याउनुपर्नेमा जोड दिए । उनले भने,‘रेल नल्याउने प्रश्नै आउँदैन् । म मन्त्री हुँदापनि हामीले कनेक्टिभिटीमा नै जोड गरेका थियौं । चाहे दक्षिणतिरको होस, या उत्तरतिरको होस । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा म परराष्ट्र सहायक  मन्त्री हुँदा किमाथांका नाका, कोरला र यारी नाका खोल्नुपर्छ भनेर कुरा भएको थियो ।’

२१ औं शताव्दीको मुख्य आधार भनेको नै कनेक्टिभिटी भएको उनको तर्क छ । उनले भने,‘यसमा प्रथम प्राथमिकता हुनैपर्छ । हामीले ईन्टर्नल कनेक्टिभिटीलाइ बढि महत्व दिनुपर्छ । ट्रेड एण्ड ट्रान्जिटहरुको नाका खोल्नुपर्छ । केरुङ–काठमाडौं, किमाथांकाको हिल्सा नाका, ताप्लेजुङका नाका, गोरखाको लार्के नाकाको कुरा छ, खोल्नुपर्छ ।’

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा हाईड्रो र पर्यटनमा नेपालले भरपर्दो प्रस्ताव राख्नुपर्ने पनि उनको सुझाव छ । उनले भने,‘नेपालीले पैसा कमाउन सक्ने यी दुई विषय हो । हामीले फाईदा लिनसक्छौं । रेल पनि ल्याउनुपर्छ । तर, यसको लागि समय लाग्न सक्छ । कृषिलाई पनि प्रथामिकतामा दिनुपर्छ ।’

उनले भ्रमणको विषयमा वादविवाद भन्दापनि आधुनिक चीनका निर्माता सीलाई स्वागत गर्न एकजुट भएर लाग्नुपर्ने जनाए । उनले थपे,‘सम्पूर्ण नेपालीले चीनलाई असल मित्रको रुपमा हेर्छन् । चीन सरकारले पनि त्यही नीति लिनुपर्र्छ । नेपाल स्थायित्व होस र स्थिर रहोस भन्ने चिनियाँहरुको बुझाई छ । त्यो सही छ । १९५६ मा विपीको पालामा मैत्रीपूर्ण सम्बन्ध हुँदा  एक देशले अर्को देशमाथि कुनैपनि बहानामा हस्तक्षेप नगर्ने, अतिक्रमण नगर्ने र एकले अर्कोलाई सहयोग गर्ने सहमति भएको थियो । नेपाल चीनको सुरक्षालगायत सुझावप्रति सदैव संवेदनशील छ । भरपर्दो मित्र भएर नेपालले गर्नसक्छ । दक्षिण एशियाली देशमा चीनप्रति एकनाशको नीति लिने देश नेपाल हो । यो भन्दा मलाई गर्व छ ।’

सीको भ्रमण छिमेकीको मात्रै भ्रमणमात्रै नभएर सही ढंगले सघन सम्वादमा निश्कर्षमा पुग्न सकियो भने धेरै फाईदा हुने उनको तर्क छ । उनले भने,‘सीको नेपाल भ्रमण चानचुने भ्रमण होईन । अत्यन्तै महत्वपूर्ण भ्रमण हो । नेपालले लिने नीति हो, दिशा र दशाको आयामा पनि तयार गर्ने भएकोले स्वागत गरौं । भ्रमण सफलताको कामना गरौं ।’

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here