गैरआवासीय नेपाली संघकाे नवौं महाधिवेशनकाे अध्यक्षमा कुमार पन्तलाई शेष घले र भवन भट्टको समर्थन

289

काठमाडौं / गैरआवासीय नेपाली संघ एनआरएनए को नवौं महाधिवेशन यही असोज २८ गतेदेखि सुरु हुँदैछ । संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् छ । तर, संघका पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले भने खुलेरै पन्तलाई अध्यक्षमा सघाउने निश्कर्ष निकालेका छन् । सूत्रले दिएको जानकारीअनुसार संघको नेतृत्व सर्वसम्मतीले चयन गर्नुपर्नेमा पूर्व अध्यक्षहरु पुगेका छन् । यदि, सहमति कायम नभए निर्वाचनमा पन्तलाई सघाउने उनीहरुको योजना छ ।

यसअघि पूर्व अध्यक्ष घले र देवमान हिराचनको साथ भने यो पटक अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई हुने प्रक्षेपण गरिएको थियो । तर, महाधिवेशनको पूर्वसन्ध्यामा पूर्व अध्यक्षहरुबीच पन्तलाई नै संघको नेतृत्वमा ल्याउने समझादारी बनेको छ । पूर्वअध्यक्षहरु नै खुलेरै पन्तको पक्षमा उभिएपछि अध्यक्षका अर्का प्रत्यासी आचार्यले उम्मेद्धवारी फिर्ता लिनसक्नेबारेपनि संघका अभियन्ताहरुले अनुमान लगाउन थालेका छन् ।

पन्तको पूर्व अध्यक्षहरुसँग अत्यन्तै घनिष्ठ सम्बन्ध रहँदै आएको छ । पूर्व अध्यक्ष लामिछाने त पन्तका व्यापारिक साझेदारी नै हुन् । संस्थापक अध्यक्ष एवम् वर्तमान प्रमुख संरक्षक डा। उपेन्द्र महतोले पनि पन्तलाई नै रुचाएका छन् । पूर्व अध्यक्ष घलेको कार्यकालमा पनि पन्तले उपाध्यक्षको रुपमा राम्रो भूमिका निर्वाह गरेकोले घलेले पनि उनलाइ संघको नेतृत्व बनाउँदा हित हुने देखेका छन् । वर्तमान अध्यक्ष भट्टलाई अध्यक्ष बनाउनमा पन्तको ठूलो भूमिका थियो । आठौं महाधिवेशनमा पन्तले आफू पनि अध्यक्षको उम्मेद्धवारी दाबी गरेका थिए । तर, पूर्व अध्यक्षद्धय महतो र लामिछानेको सल्लाअनुसार उनले त्यतिवेला भट्टलाई सघाएका थिए । स्रोतकाअनुसार ८ औं महाधिवेशनमा भट्ट र पन्तबीच नवौं महाधिवेशनमा पन्तलाई अध्यक्ष बनाउनेबारे भद्र सहमति बनेको थियो । सोहीअनुसार भट्टले यो पटक पन्तलाई नै सघाउने निश्चित् छ ।

उता, पन्तले पूर्व अध्यक्ष शेष घलेको भिजन–२०२० एण्ड बियोन्डको एजेण्डा नै अबको एनआरएनको मुद्दा हुने बताएर आफूलाई घलेको पनि साथ र समर्थन रहेको कुरा यसअघि नै बताईसकेका छन् । उनले सार्वजनिक कार्यक्रममा भन्ने गरेका छन्,‘कतिपय साथीहरुले मलाई अब एनआरएनको मुद्दा के हुन्छ भन्नुहुन्छ रु मेरो वा अरु साथीको मुद्दा भन्ने केही छैन, भिजन २०२० नै अबको मुद्दा हो’ एनआरएन युकेको नवौं अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पन्तले भने, ‘ भिजन २०२० मा सबै विषय समेटिएका छन् । त्यसैलाई कार्यान्वयन गरेर अघि बढिनुपर्छ ।’ मध्यपूर्व, एसिया प्यासिफिक, युरोप अमेरिकालगायतका क्षेत्रमा ठाउँअनुसार फरक फरक चासो र एजेण्डा रहेका भएपनि ती सबै विषयलाई भिजन २०२० ले नै सम्बोधन गर्न सक्ने पन्तको दाबी छ।

गैर-आवासीय नेपाली आन्दोलनको भावी कार्यदिशा तय गर्न र नयाँ नेतृत्व चयन गर्न अधिकांश गैरआवासीय नेपालीहरु काठमाडौंमा भेला भैसकेका छन् भने केही भेला हुँदैछन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म चल्नेछ । विश्वका ८० मुलुकमा बसोबास गर्ने ८० लाख नेपालीको आगामी नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेद्वारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here