अमेरिकामा कार दुर्घटनामा हुँदा नेपाली आमा-छोरीको मृत्यु

239

एजेन्सी / अमेरिकाको ओहायो राज्यमा गत शनिबार राति भएको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। ओहायो राज्यस्थित कोलम्बसमा कार दुर्घटनामा ४० वर्षीया कुमारी विश्वकर्मा र २४ वर्षिया अन्जु विश्वकर्माको मृत्यु भएको हो।

दुर्घटनामा अन्य चार जना घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय कोलम्बस प्रहरीका अनुसार सडक दुर्घटनामा ज्यान गुमाउने दुवै आमा, छोरी हुन्। प्रहरीले स्थानीय टेलिभिजनलाई दिएको जानकारी अनुसार २४ वर्षिया अन्जुको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेमध्ये एक विश्वकर्मा थरकी महिलाको अवस्था गम्भीर छ, उनको स्थानीय माउन्ट कारमिल इस्ट अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटना शनिबार राति करिब १० बजे कोलम्बसको उत्तर पूर्वी बाटोमा भएको हो। प्रहरीले भनेको छ, ‘दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ, दुर्घटना सनबुरी र मोरसीको चौबाटोमा भएको हो।’

मृतक कुमारीले चलाएको टोयोटा क्याम्री कारलाई औडी कार चलाएका व्यक्तिले ठक्कर दिएका थिए। अर्को कारमा सवार, चालक र अन्य एक जनाको अवस्था समेत गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय अमेरिकामा कार दुर्घटनामा ज्यान गुमाउने नेपालीहरूको संख्या बढ्दो छ। एक महिना अगाडि अमेरिकाको मिजौरी राज्यमा भएको सडक दुर्घटनामा परी एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको थियो। दुर्घटनामा चार बर्षिय बालक र चालक घाइते भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here